काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । सोमबारदेखि सुरु भएको साधारणसभाले पदाधिकारी तथा सदस्य चयन गर्ने प्रक्रिया अघि बढाएको हो ।
साधारणसभाबाट हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् भने अन्य पदका लागि मतदान प्रक्रिया जारी रहेको छ । मतदान कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भइरहेको छ ।
महासंघमा ४ उपाध्यक्षसहित कुल ७३ पदमा प्रतिस्पर्धा हुँदैछ । उपाध्यक्ष पदमध्ये जिल्ला–नगरतर्फ २, एसोसिएटतर्फ १ र वस्तुगततर्फ १ जना चयन हुनेछन् ।
यस निर्वाचनमा २ हजारभन्दा बढी मतदाताले सहभागिता जनाउने अपेक्षा गरिएको छ । मतदाता संरचनाअनुसार एसोसिएटतर्फ १ हजार ८५०, जिल्ला–नगरतर्फ १२९, वस्तुगत संघतर्फ १०७, वस्तुगत महासंघतर्फ १७, द्विराष्ट्रिय तर्फ ८ र संस्थापकतर्फ १२ जना मतदाता रहेका छन् ।
निर्वाचन बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन सुरु भइसकेको छ भने अन्तिम परिणाम बुधबार सार्वजनिक गरिने महासंघले जनाएको छ ।

यसपटकको निर्वाचनमा मुख्य दुई समूहबीच प्रतिस्पर्धा भइरहेको छ । स्वतः अध्यक्ष हुने अञ्जन श्रेष्ठ समूह र वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार हेमराज ढकाल समूहबीच नेतृत्वका लागि प्रतिस्पर्धा भइरहेको हो ।
श्रेष्ठ समूहबाट वस्तुगत उपाध्यक्षतर्फ शिवप्रसाद घिमिरे, एसोसिएट उपाध्यक्षतर्फ प्रबलजंग पाण्डे र जिल्ला–नगर उपाध्यक्ष उपाध्यक्षतर्फ दिल सुन्दर श्रेष्ठ र कृष्ण प्रसाद शर्मा उम्मेदवार छन् ।
त्यस्तै, हेमराज ढकाल समूहबाट वस्तुगत उपाध्यक्षतर्फ नरेशलाल श्रेष्ठ, एसोसिएट उपाध्यक्षतर्फ ज्योत्सना श्रेष्ठ तथा जिल्ला–नगर उपाध्यक्षतर्फ उमेश डालमिया र कल्पना गैरे उम्मेदवार रहेका छन् । साथै महिला उपाध्यक्ष पदमा कल्पना श्रेष्ठ पनि प्रतिस्पर्धामा रहेकी छन् ।