काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनमा वस्तुगततर्फ उपाध्यक्ष पदमा नरेशलाल श्रेष्ठ विजयी भएका छन् ।
श्रेष्ठले ६३ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी शिवप्रसाद घिमिरेलाई ३ मतले पराजित गरेका हुन् । घिमिरेले ६० मत प्राप्त गरेका छन् । श्रेष्ठ वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार हेमराज ढकाल समूहबाट निर्वाचनमा होमिएका थिए ।
यस्तै, वस्तुगततर्फ कार्यकारिणी सदस्यमा अरनिको राजभण्डारी, विदुर धमला, सागर ढकाल, रवीन पुरी, राजकुमार कार्की, पशुपतिदेव पाण्डे, लिलेन्द्र प्रधान, भक्तबहादुर हमाल, नानिराज घिमिरे, संघर्ष बिष्ट र होमप्रसाद घिमिरे निर्वाचित भएका छन् ।
महिला सदस्यतर्फ सुनिता नेहाफुकीले विजय हासिल गरेकी छिन् ।
यसैगरी, निराजन चलाउने, रघुनन्दन मारु, विप्लव अधिकारी र सुरज बन्जाडेले समान ५०-५० मत प्राप्त गरेका छन् । उनीहरूबीच गोलाप्रथामार्फत कार्यकाल निर्धारण गरिने भएको छ । यी ४ मध्येबाट ३ जनाले गोलाप्रथाबाट जित्ने छन् ।
को हुन् श्रेष्ठ ?
श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत निर्यात प्रवर्द्धन समितिका पूर्व सभापति हुन् । उनी विगत करिब तीन दशकदेखि नेपालको निर्यात क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।
यसअघि उनी वस्तुगततर्फ कार्यकारिणी सदस्यका रूपमा दुई कार्यकाल निर्वाचित भएका थिए र दुवै पटक उच्च मत प्राप्त गरेका थिए । साथै, उनले अघिल्लो कार्यकालमा निर्यात प्रवर्द्धन समितिमा सह–सभापतिको रूपमा पनि काम गरेका छन् ।
श्रेष्ठ नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक संघका अध्यक्ष समेत हुन् । उनले ऊनी फेल्टलगायत नेपाली मौलिक उत्पादनहरूको निर्यातमार्फत विदेशी मुद्रा आर्जनमा योगदान दिँदै आएका छन् ।
यसका अतिरिक्त, उनी नेपाल-जर्मन चेम्बर अफ कमर्स र नेपाल निर्यात परिषद्का उपाध्यक्षसमेत हुन् । हस्पिटालिटी, जलविद्युत् लगायत विभिन्न क्षेत्रमा उनको एक दर्जनभन्दा बढी कम्पनीमा लगानी रहेको छ ।