काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा निस्शुल्क स्वास्थ्य शिविर तथा देशव्यापी बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरिएको यी कार्यक्रमबाट एक हजारभन्दा बढी व्यक्तिहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।
कम्पनीले वैशाख २१ र २२ गते काठमाडौंस्थित प्रधान कार्यालय परिसरमा निस्शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । शिविरमा इसिजी, थाइराइड, सुगर, रक्तचाप, एसजिपिटी, कोलेस्ट्रोल तथा युरिक एसिडलगायतका परीक्षण निःशुल्क रूपमा गरिनुका साथै विशेषज्ञ चिकित्सकबाट परामर्श सेवा प्रदान गरिएको थियो। दुई दिने उक्त शिविरबाट कुल ६०१ जनाले सेवा लिएका छन् ।
यसैगरी, कम्पनीले देशका सातै प्रदेशका १३ स्थानमा एकैसाथ रक्तदान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमअन्तर्गत कोशी प्रदेशको इटहरीमा ३०, मधेश प्रदेशको वीरगञ्जमा २५ र जनकपुरमा २५, बागमती प्रदेशको काठमाडौंमा ७८, नारायणगढमा ८१, नुवाकोटमा ३९, हेटौंडामा २६ र बनेपामा ३२, गण्डकी प्रदेशको पोखरामा ५५, लुम्बिनी प्रदेशको बुटवलमा ३३ र भैरहवामा ३४, कर्णाली प्रदेशको सुर्खेतमा २५ तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा ३३ पिन्ट रगत संकलन गरिएको कम्पनीले जनाएको छ । यसरी कुल ५०५ पिन्ट रगत संकलन भएको छ ।
‘किनकि, जीवन अमूल्य छ’ भन्ने नारालाई आत्मसात् गर्दै आएको नेपाल लाइफ इन्स्योरेन्स देशकै अग्रणी जीवन बीमा कम्पनीमध्ये एक हो । कम्पनीले करिब ३० प्रतिशत बजार हिस्सा ओगट्दै आएको र २५ वर्षदेखि करिब ५४ लाख नेपाली परिवारको विश्वास जित्दै आएको जनाएको छ । देशभरका ७७ जिल्लामा फैलिएको शाखा सञ्जाल तथा ६९ हजारभन्दा बढी अभिकर्तामार्फत कम्पनीले सेवा प्रदान गर्दै आएको छ ।
वार्षिकोत्सवका अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीका अध्यक्ष, सञ्चालकहरू, शेयरधनी, ग्राहक, अभिकर्ता, कर्मचारी तथा नियामक निकायलगायत सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद व्यक्त गरेका छन् । आगामी दिनमा पनि यस्तै सहयोग, विश्वास र सहकार्य निरन्तर प्राप्त हुने अपेक्षा उनले व्यक्त गरेका छन् ।