काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वस्तुगततर्फको कार्यकारिणी सदस्य पदमा पशुपति देव पाण्डे निर्वाचित भएका छन् ।
नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्षसमेत रहेका पाण्डे दोस्रो कार्यकालका लागि महासंघको वस्तुगत सदस्यमा विजयी भएका हुन् । उनी नरेशलाल श्रेष्ठ नेतृत्वको प्यानलबाट उम्मेदवार बनेका थिए ।
स्पष्ट वक्ता र सफल उद्यमीका रूपमा परिचित पाण्डे नेपालको तयारी पोशाक निर्यात, कृषि, पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा सक्रिय व्यवसायीका रूपमा चिनिन्छन् । उनले नेपाल तयारी पोशाक उद्योग संघको अध्यक्षका रूपमा नेतृत्व गर्दै उद्योगले भोग्दै आएका नीतिगत समस्या समाधानका लागि सरकारसँग निरन्तर समन्वय गर्दै आएको बताए ।
उनका अनुसार तयारी पोशाक उद्योगसहित वस्तुगत क्षेत्रले भोगिरहेका संरचनागत समस्या समाधानका लागि राज्य तहमा पहल गर्दै उद्योगमैत्री नीति निर्माणमा योगदान पुर्याउने उनको प्राथमिकता रहनेछ ।
पाण्डेले महासंघभित्रको नयाँ नेतृत्वले निजी क्षेत्रको समग्र प्रतिनिधित्व गर्दै उद्योग, व्यापार तथा सेवा क्षेत्रका चुनौती समाधानमा प्रभावकारी भूमिका खेल्ने बताए ।
उनले बदलिँदो विश्व व्यापार परिप्रेक्ष्य, आपूर्ति शृंखला परिवर्तन र प्रतिस्पर्धात्मक बजार संरचनालाई ध्यानमा राख्दै निजी क्षेत्रको सुदृढीकरण आवश्यक रहेको उल्लेख गरे ।
पाण्डेले ‘मेड इन नेपाल’ ब्रान्ड प्रवर्द्धन, निर्यात विविधीकरण, व्यापार सहजीकरण र अन्तर्राष्ट्रिय बजार पहुँच विस्तारमा सरकार तथा महासंघसँग मिलेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।