काठमाडौं । बीमकले फ्याकल्टेटिभ पुनर्बीमा गर्दा सुरुमा स्वदेशी पुनर्बीमकलाई प्रस्ताव गर्नुपर्ने प्रावधान हटेको छ।
नेपाल बीमा प्राधिकरणले बीमकको पुनर्बीमा निर्देशिका, २०८० मा तेस्रो संशोधन गर्दै दफा (४)को उपदफा (६) र (७)मा रहेको प्रावधान हटाएको हो । यसअघि निर्देशिकाको दफा (४)को उपदफा (६) मा बीमकले फ्याकल्टेटिभ पुनर्बीमा गर्दा सुरुमा स्वदेशी पुनर्बीमकलाई प्रस्ताव गर्नुपर्ने व्यवस्था रहेको थियो ।
संशोधित निर्देशिकामार्फत पुनर्बीमकले प्रस्ताव अस्वीकार गरेमा बीमकले उक्त पुनर्बीमा अन्य गर्न सक्ने (४)को उपदफा (७) मा प्रावधान पनि हटाइएको छ । यसअघि स्वदेशी पुनर्बीमकले उक्त प्रस्ताव स्वीकार वा अस्वीकार के गर्ने हो सो कुरा खुलाई २४ घन्टाभित्र जबाफ पठाउनुपर्ने व्यवस्था पनि थियो ।
प्राधिकरणले निर्देशिकाको दफा ८ मा रहेको पुनर्बीमकसँग पुनर्बीमा गर्नुपर्ने प्रावधानमा पनि संशोधन गरेको छ । अब बीमकले निर्देशिकाको दफा (७) को उपदफा (१) को अधीनमा रही ट्रिटी पुनर्बीमाअन्तर्गत प्रत्यक्ष हिस्सा (डाइरेक्ट सेसन) स्वेदशी पुनर्बीमकलाई प्रदान गर्नुपर्नेछ ।
दफा (७) को उपदफा (१) भएको व्यवस्था
हिस्सा प्रदान गरेपछि बाँकी रहेको हिस्साको कम्तीमा ३० प्रतिशत पुनर्बीमा स्वदेशी पुनर्बीमकलाई प्रदान गर्नुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ ।
त्यस्तै बीमा कम्पनीले जीवन बीमा, मोटर, कृषि, पशुपन्छी तथा जडीबुटी बीमा, हुलदंगा तथा आतंकवाद बीमा र विविध (यात्रा, ट्रेकिङ तथा स्वास्थ्य बीमाबाहेक) बीमालाई दफा १८ को अधीनमा रही स्वदेशमै सतप्रतिशत पुनर्बीमा गर्नुपर्नेछ । प्राप्त पुनर्बीमा स्वदेशी पुनर्बीमकले अस्वीकार गर्न नपाउने व्यवस्था संशोधित निर्देशिकामा गरिएको छ ।
संशोधनमार्फत अब यो निर्देशनलाई पुनर्बीमक (तेस्रो संशोधन) निर्देशिका, २०८३ भनिनेछ।