रिक्त स्वास्थ्य विज्ञान प्रतिष्ठान, अस्पताल र बोर्डहरूमा निमित्त प्रमुख नियुक्त

काठमाडौं । सरकारले रिक्त स्वास्थ्य विज्ञान प्रतिष्ठान, अस्पताल र बोर्डहरूमा निमित्त प्रमुख तोकेको छ । अध्यादेशमार्फत सबै स्वास्थ्य विज्ञान प्रतिष्ठान, अस्पताल र बोर्डका प्रमुखहरूलाई पदमुक्त गरेर निमित्त प्रमुखलाई जिम्मा दिइएको छ । 

केही समयभित्र नयाँ प्रमुखहरू नियुक्त गर्ने तयारी भइरहेकाले काममा कुनै बाधा नपरोस् भन्नेका लागि सबै संस्थाको जिम्मा निमित्त उपप्रमुखलाई दिएको छ । 

नेतृत्व नहुँदा बिरामीको उपचार, दैनिक सेवा प्रवाह र प्रशासनिक कार्यमा कुनै पनि अवरोध नपरोस् भन्ने उद्देश्यले तत्कालका लागि निमित्त प्रमुखहरूको नियुक्ति गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त प्रमुखमा प्रा.डा. समिता पन्त, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. नरेन्द्र विक्रम गुरुङलाई नियुक्त गरिएको छ ।

यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सह प्रा.डा. विनम्र विष्ट, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सह–प्रा.डा. इन्द्र लिम्बु,राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सह–प्रा.डा. सुरेश रसाइली, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल डा. उमेश नेपाल, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सह–प्रा.डा. रविन्द्रभक्त तिमलालाई नियुक्त गरिएको छ ।

त्यस्तै, वीर अस्पतालको निमित्त निर्देशकमा प्रा. डा. प्रभा कोइराला र  स्वास्थ्य बीमा बोर्डमा शकुन्तला प्रजापतिलाई निमित्त प्रमुखको रूपमा नियुक्त गरेको छ ।

मन्त्रालयका अनुसार निमित्त नियुक्ति केवल अत्यावश्यक काम नरोक्न गरिएको अल्पकालीन व्यवस्था मात्र हो । 

रिक्त पदमा छिट्टै खुला प्रतिस्पर्धा आह्वान गरी मेरिटका आधारमा पूर्णकालीन नेतृत्व चयन गर्ने तयारी तीव्र पारिएको छ ।

Share News