इराकी युवक र नेपाली युवतीले गरे काठमाडौंमा 'हिन्दू विवाह'

काठमाडौं । भनिन्छ, प्रेमको कुनै निश्चित भूगोल हुँदैन, न त यसले जात र धर्मकै सीमा मान्दछ । यही भनाइलाई चरितार्थ गर्दै झण्डै चार हजार किलोमिटर टाढाको मुलुक इराकबाट प्रेम खोज्दै आएका एक युवक र नेपाली युवतीबीच काठमाडौंमा भव्य विवाह सम्पन्न भएको छ ।

पछिल्लो समय नेपाली समाज सांस्कृतिक रूपमा उदार बन्दै गएको छ । अन्तर्जातीय मात्र होइन, अन्तरदेशीय वैवाहिक सम्बन्धहरूलाई पनि समाजले सहजै स्वीकार्न थालेको छ । यसैको पछिल्लो कडी बनेको छ– इराकी युवक हम्जा अल्हादिती र काठमाडौंकी आस्था पियाको वैवाहिक गाँठो ।

काठमाडौंको पर्यटकीय केन्द्र ठमेलस्थित एक रेस्टुरेन्टमा मुस्लिम समुदायमा हुर्किएका इराकी युवक हम्जा र हिन्दू परम्परामा हुर्किएकी नेवार समुदायकी आस्था पियाले हिन्दू संस्कार र संस्कृतिअनुसार लगनगाँठो कसेका हुन् ।

मुस्लिम धर्मालम्बी हम्जाले हिन्दू परम्परालाई सम्मान गर्दै सोही विधिअनुसार विवाह गरेका हुन् । उनीहरू दुवै जना लामो समयदेखि प्रेम सम्बन्धमा थिए । उनीहरूको यो सम्बन्ध अन्ततः लगनगाँठोमा परिणत भएको हो ।

प्रेमले जात र धर्मको सीमारेखा तोड्छ भन्ने कुरालाई यी जोडीले व्यवहारमै प्रमाणित गरिदिएका छन् ।
आस्था र हम्जाको यो मिलनले प्रेममा कुनै पर्खाल हुँदैन र आपसी सम्मान नै सफल दाम्पत्यको आधार हो भन्ने सन्देश दिएको छ । फरक भूगोल, फरक धर्म र फरक भाषा भए पनि उनीहरूलाई एउटै सूत्रमा बाँध्ने कडी भनेको 'प्रेम' नै बन्यो ।

Share News