ट्राफिक प्रमुख अधिकारी आफैं सडकमा, एकैदिन १८०६ चालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेसँगै पछिल्लो २४ घण्टामा १ हजार ८०६ सवारी चालक कारबाहीमा परेका छन् । कारबाहीबाट १८ लाख ७६ हजार ५०४ रुपैयाँ राजस्व संकलन भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ७७ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १६२ जना, ट्राफिक संकेत उल्लङ्घन गर्ने १०६ जना तथा तीव्र गतिमा सवारी चलाउने ८८ जनालाई कारबाही गरिएको छ ।

त्यस्तै, लेन अनुशासन उल्लङ्घन गर्ने ८४ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ३९ जना, सडक पेटीमा पार्किङ गर्ने ७७ जना तथा एकतर्फी सडकमा सवारी चलाउने १११ जनामाथि पनि कारबाही गरिएको छ । अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ६२ जना चालकसमेत कारबाहीमा परेका छन् ।

ट्राफिक प्रहरीले उपत्यकामा बढ्दो सवारी चाप र दुर्घटना न्यूनीकरणलाई लक्षित गर्दै मुख्य सडक, चोक तथा नागढुङ्गा लगायत प्रमुख नाकामा विशेष चेकजाँच अभियान सञ्चालन गरेको जनाएको छ ।

यात्रुवाहक तथा मालवाहक सवारीसाधनमाथि विशेष निगरानी बढाइएको कार्यालयले जनाएको छ । क्षमताभन्दा बढी यात्रु बोक्ने, मापसे गरेर सवारी चलाउने, ट्राफिक नियम उल्लङ्घन गर्ने तथा प्राविधिक रूपमा कमजोर सवारीसाधनलाई लक्षित गरी निगरानी कडा बनाइएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी स्वयं सडकमा खटिएर अनुगमन गरिरहेका छन् । ट्राफिक प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार प्रमुख अधिकारीले विभिन्न स्थानमा पुगेर ट्राफिक व्यवस्थापन, चेकजाँच तथा चालकलाई सचेतनामूलक जानकारी दिइरहेका छन् ।

ट्राफिक प्रहरीका अनुसार पछिल्लो समय उपत्यकामा हुने अधिकांश दुर्घटनाको मुख्य कारण तीव्रगति, लापरवाहीपूर्ण सवारी सञ्चालन, ओभरटेक, मोबाइल प्रयोग गर्दै सवारी चलाउने तथा मापसे रहेको छ । ती गतिविधि नियन्त्रण गर्न विशेष टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

नागढुङ्गा, कलङ्की, कोटेश्वर, चाबहिल, जडीबुटी, बल्खु, महाराजगञ्ज र नयाँ बसपार्कलगायत व्यस्त क्षेत्रमा ट्राफिक प्रहरीको उपस्थिति बढाइएको छ । लामो दूरीका सार्वजनिक सवारीसाधनको प्राविधिक अवस्था, चालकको स्वास्थ्य तथा यात्रु क्षमतामाथि पनि निगरानी थालिएको प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न विद्यालय, कलेज तथा सार्वजनिक स्थानमा सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिरहेको जनाएको छ । दुर्घटना न्यूनीकरण र सुरक्षित यातायात प्रणाली विकासका लागि चेकजाँच अभियानलाई अझ प्रभावकारी बनाइने कार्यालयले जनाएको छ ।

Share News