काठमाडौं । यही वैशाख २१ गतेदेखिको वर्षासँगैको आएको बाढीपहिरोका कारण अवरुद्ध भएका देशका विभिन्नका राजमार्गमध्ये पाँच वटा एकतर्फी रूपमा सञ्चालन भएका छन् ।
बाढीपहिरोका कारण अवरुद्ध भएका भोजपुर नगरपालिका बोखिमको मध्यपहाडी लोकमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ नयाँ बस्तीस्थित कोशी राजमार्ग, म्याग्दीको अन्न्पूर्ण गाउँपालिका-३ जलथलेस्थित बेनी-जोमसोम सडकखण्ड, लमजुङको मध्यनेपाल नगरपालिका-१० विमिरेभञ्ज्याङस्थित मध्यपहाडी लोकमार्ग र तनहुँ आबुखैरेनी गाउँपालिका-४ डम्पिङस्थित पृथ्वी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।
उनले भने, 'बाढीपहिरोका कारण अवरुद्ध भएका पाँच वटा राजमार्ग एकतर्फी रूपमा सञ्चालन भएका छन् । वैशाख २१ गतेको अविरल वर्षाका कारण इलामको रोङ गाउँपालिका-६ सलकपुरस्थित ङखेप हुँदै झापा जाने भित्रि कच्ची सडक भने अहिले सम्म पूर्ण रूपमा अवरोध भएको छ ।'
यसैगरी काभ्रेपलाञ्चोक खुर्कोट-नेपालथोक-कटुञ्जेबेसीस्थित विपी राजमार्ग सडक खण्ड हुँदै सञ्चालन हुने सम्पूर्ण सवारी साधन सञ्चालनमा भने अर्को आदेश नभएसम्मका लागि रोक लगाइएको प्रहरीले जनाएको छ ।
वर्षात्को समयमा बाढीपहिरोको जोखिम बढी हुने भएकाले अवरुद्ध भएका र एकतर्फी सञ्चालन भएका राजमार्गमा यात्रा गर्दा सुरक्षित एवं सावधानी तरिकाले यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।