डर र प्रभावमा न्याय सम्भव छैन, महाअभियोगको त्रासबाट मुक्त भएर काम गर्नू : सपना प्रधान मल्ल

काठमाडौं । सर्वोच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्यायपालिका कुनैपनि प्रकारको डर, त्रास वा राजनीतिक प्रभावबाट मुक्त हुनुपर्नेमा जोड दिएका छन् । कानून दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले न्यायाधीशहरूलाई निर्भीक भएर न्याय सम्पादन गर्न आह्वान गरेकी हुन् । 

उनले न्यायपालिकालाई ‘आज्ञाकारी’ बनाउने वा राजनीतिक स्वार्थपूर्तिको माध्यम बनाउने दुष्प्रयास स्वीकार्य नहुने स्पष्ट पारिन् । शक्ति पृथकीकरणको सिद्धान्त र विधिको शासनलाई कमजोर बनाउने प्रवृत्तिप्रति सचेत गराइन् । विधिको शासनविरुद्ध हुने षड्यन्त्रविरुद्ध उभिने आँट र प्रतिवद्धता सबै सरोकारवालाले देखाउनुपर्ने उनको भनाइ छ । 

उनले भनिन्, ‘डर र प्रभावमा न्याय सम्भव छैन, चाहे त्यो दुई तिहाइको सरकारको डर होस् वा महाअभियोगको । डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न म सम्पूर्ण न्यायकर्मीहरूलाई आह्वान गर्दछु ।’

एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न नसकिने भन्दै विधिको हत्या गरेर गरिने कार्यले अन्ततः निरंकुशता निम्त्याउने स्पष्ट पारिन् ।   

Share News