प्राकृतिक विपद्को ९२ प्रतिशत क्षति अझै बीमा बाहिर

काठमाडौं । सन् २०२५ मा एसियामा प्राकृतिक विपदबाट भएको कुल क्षतिको ९२ प्रतिशत हिस्सा बीमाको दायरा बाहिर रहेको देखिएको छ । स्वीस रि ‘सिग्मा’ प्रतिवेदनअनुसार सन् २०२५ मा एशियामा प्राकृतिक विपदबाट भएको क्षतिमध्ये बीमा कम्पनीहरूले तिरेको दाबी रकम ५.२ अर्ब अमेरिकी डलर पुगेको थियो ।

तीव्र सहरीकरण, पूर्वाधार विस्तार तथा बाढी र तटीय क्षेत्रमा बस्ती केन्द्रित हुँदै जानु नै क्षति बढ्नुका मुख्य कारण रहेको प्रतिवेदनले औंल्याएको छ । विशेषगरी न्यून आय भएका देशमा बीमाको पहुँच, क्षमता र नीतिगत संरचना कमजोर हुँदा ठूलो ‘प्रोजेक्सन ग्याप’ देखिएको प्रतिवेदनमा उल्लेख छ ।

यद्यपि बीमा बाहिरको क्षति अघिल्लो १० वर्षको औसत ११.५ अर्ब डलरभन्दा कम रहेको र पछिल्ला नौ वर्षयताकै न्यून स्तरमा झरेको प्रतिवेदनले देखाएको छ । 

सन् २०२५ मा एसियामा भूकम्पबाट १.९ अर्ब डलर, बाढीबाट १.७ अर्ब डलर तथा आँधीबाट १.२ अर्ब डलर बराबरको क्षति भएको छ । सन् १९७० यता एसियामा कुल विपदबाट हुने क्षतिको ९० प्रतिशतभन्दा बढी हिस्सा यी तीन प्रकारका विपद्ले ओगट्दै आएको छ । 

प्रतिवेदनअनुसार विकसित एसियाली अर्थतन्त्रमा विपदबाट हुने क्षतिको औसत २२ प्रतिशत हिस्सा बीमाले धानेको छ । तर भर्खरै उदाउँदै गएको एसियाली बजारमा यो दर ५ प्रतिशत मात्रै रहेको छ । 

एसियामा बाढीलाई सबैभन्दा ठूलो जोखिमको रूपमा औंल्याइएको छ । सन् २०२५ मा मात्रै एसियामा बाढीबाट ३१ अर्ब डलर बराबरको कुल क्षति भएको थियो । वार्षिक रूपमा बाढीबाट बीमितले गर्ने क्षतिको दाबी १२ प्रतिशतले बढ्दै गएको छ ।

यति ठूलो जोखिम हुँदाहुँदै पनि एसियामा बाढीबाट हुने क्षतिको  २० प्रतिशत मात्रै बीमा रहेको पाइएको छ । 

Share News