मन्त्री मेहताले वीर अस्पतालबाट थालिन् सरसफाइ अभियान

काठमाडौं । सरकारले सोमबारदेखि देशभर ‘सरसफाइ सप्ताह २०८३’ सुरु गरेको छ । सप्ताहको स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले वीर अस्पतालबाट औपचारिक शुभारम्भ गरेकी छन् । सोमबार बिहान वीर अस्पताल परिसरमा पुगेकी मन्त्री मेहताले कुचो लिएर सरसफाइ गर्दै अभियान सुरु गरेकी हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २८ गतेदेखि ‘सरसफाइ सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन, २०८३’ सुरु हुने जनाएको थियो । अब आजदेखि जेठ १ गतेसम्म संघीय, प्रादेशिक र स्थानीय तहका सरकारी निकायमा सरसफाइ अभियान सञ्चालन गरिनेछ । अभियानअन्तर्गत कार्यालय परिसरको नियमित सरसफाइ, शौचालय स्तरोन्नति, फोहोर वर्गीकरण तथा सेवाग्राहीमैत्री वातावरण निर्माणमा जोड दिइएको छ।

अस्पतालजस्ता बढी सेवाग्राही आउने स्थानमा महिला तथा अपाङ्गतामैत्री शौचालय, हात धुने स्थानमा साबुनको व्यवस्था र ढल निकास व्यवस्थापनलाई प्राथमिकतामा राखिएको सरकारले जनाएको छ। यस्तै प्रत्येक निकायमा ‘सरसफाइ सम्पर्क व्यक्ति’ तोक्ने र मासिक स्व–मूल्यांकन प्रणाली लागू गरिने व्यवस्था पनि गरिएको छ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटा, मन्त्रालयका अधिकारी तथा अस्पतालका कर्मचारीहरूको समेत सहभागिता रहेको थियो । 

Share News