साढे २ करोडमा बनेका वाटर एटिएम बुथमा पानीको दुरुपयोग

काठमाडौं । निःशुल्क ‘वाटर बुथ’मा राखिएको पानीको दुरुपयोग रोक्न काठमाडौं महानगरपालिकाले निगरानी बढाएको छ । काठमाडौंका विभिन्न ८ ठाउँमा निःशुल्क रूपमा पिउनका लागि राखेको छ । बुथबाट पिउनका लागि मात्र पानी लिन कामपाले प्रयोगकर्तालाई आग्रह गरेको हो ।

पिउनका लागि मात्रै नभई अन्य प्रयोजनका लागि पनि पानी प्रयोग गरेको भेटेपछि कामपाले निगरानी बढाएको कामपा सार्वजनिक निजी साझेदारी एकाइका सहायक निर्देशक नरेन्द्रमान बज्राचार्यले बताए । उनका अनुसार कामपाले काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँगको सहकार्यमा पछिल्लो समय ८ वटा निःशुल्क वाटर एटिएम बुथ सञ्चालनमा ल्याएको छ ।

निर्माणपछि प्रयोग परीक्षण गरेपछि वैशाख ५ गते यी बुथको औपचारिक शुभारम्भ गरिएको बज्राचार्यले जानकारी दिए । ८ वटा बुथको निर्माण लागत २ करोड ६० लाख रूपैयाँ रहेको कामपाले जनाएको छ । उनका अनुसार बुथबाट राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड, २०७९ अनुसार गुणस्तरीय स्तरको पिउने पानी निःशुल्क उपलब्ध हुन्छ ।

नेपाली मौलिक शैलीमा निर्माण गरिएका बुथमा ३ हजार लिटर पानी भण्डारण क्षमता छ । काठमाडौंको खुला मञ्च, महावौद्ध, दरबार हाइस्कुलको कम्पाउन्ड (जमलबाट कमलादी जाने सडक), राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, वडा नं १७ लिङ्क रोड ढल्को चोक, वडा नं ५ नरःदे (हाँडीगाउँ), वडा नं २६ परिसर र वडा नं ३१ परिसरमा यो प्रणाली जडान भएका छन् ।

बुथमा आधुनिक फिल्टर प्रणाली जडान गरिएको कामपा सार्वजनिक निजी साझेदारी एकाइका सहायक निर्देशक बज्राचार्यले बताए । पानीको स्वच्छता नियमित रूपमा परीक्षण गर्ने गरिएको छ । यसमा २४सै घण्टा पानी उपलब्ध हुन्छ । यसको उपयोग र संरक्षण निगरानीका लागि सिसिटिभी क्यामरा जडान गरिएको उनको भनाइ छ ।

‘बुथलाई मौलिक जरुहिटीको परिवर्तित स्वरूप मान्न सकिन्छ । काठमाडौंबासीका घरमा पानीको धारा नजोडिएका समयमा हिटीमा पानी लिन जान्थे । यसरी पानी ल्याउन गाग्रीसँगै एउटा सानो लोटा वा अम्खोरा पनि हुन्थ्यो । हिटीबाट पानी भरेर फर्किँदा अम्खोरामा भएको पानी बाटोमा बनाइएको पानी सङ्कलन गर्ने ठाउँमा राखिन्थ्यो । टोलभरिका सबैले अलिअलि गरेर जम्मा गरेको त्यो पानी बटुवाको तिर्खा मेटाउनका लागि प्रयोग हुन्थ्यो,’ उनले भने । 

पहिले जस्तो अहिले हिटीमा गएर पानी ल्याउनु नपर्दै भएपछि जरुहिटी पनि सुक्दै गएको निर्देशक बज्राचार्यको बुझाइ छ । यसरी सुक्दै गएका जरुहिटीले बटुवालाई दिने सेवा प्रदान गर्न निःशुल्क वाटर एटिएम बुथ बनाइएको उनले बताए ।

Share News