वालेटमै ब्याज पाउने सुविधा, खल्तीको ‘सुपर वालेट’ सबैका लागि खुला

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले सम्पूर्ण प्रयोगकर्ताका लागि ‘सुपर वालेट’ सुविधा सार्वजनिक गरेको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेडसँगको सहकार्यमा ल्याइएको यो सेवा नेपालकै पहिलो यस्तो डिजिटल वालेट सुविधा हो, जसले प्रयोगकर्तालाई वालेटमा रहेको मौज्दातमा प्रत्यक्ष ब्याज प्रदान गर्छ । यससँगै खल्ती नेपालमा नियो बैंकिङ युग सुरु गर्ने अग्रणी डिजिटल भुक्तानी प्लेटफर्म बनेको कम्पनीले जनाएको छ ।

यसअघि सीमित प्रयोगकर्तामा मात्र उपलब्ध रहेको यो सुविधा अब सबै केवाईसी प्रमाणित व्यक्तिगत प्रयोगकर्तामा विस्तार गरिएको छ । सुपर वालेट सक्रिय भएपछि वालेटमा रहेको रकममा दैनिक आधारमा ब्याज गणना भई मासिक रूपमा स्वतः जम्मा हुने व्यवस्था छ । हाल वार्षिक २.७५ प्रतिशतसम्म ब्याजदर प्रदान गरिनेछ, जुन साझेदार बैंकको मानक दरअनुसार परिवर्तन हुन सक्ने बताइएको छ ।

यो सुविधा प्रयोग गर्न प्रयोगकर्ताले खाता केवाईसी प्रमाणित गरेको हुनुपर्नेछ र कम्तीमा १० वटा कारोबार सम्पन्न गरेको वा वालेटमा न्यूनतम १ हजार रुपैयाँ मौज्दात राखेको हुनुपर्नेछ । सेवा पूर्ण रूपमा डिजिटल भएकाले कुनै बैंक भ्रमण वा कागजी प्रक्रिया आवश्यक नपर्ने कम्पनीले जनाएको छ । प्रयोगकर्ताले खल्ती एपको ‘सुपर वालेट’ सेक्सनमार्फत सहजै आवेदन दिन सक्नेछन् र आवेदन दिएको भोलिपल्टदेखि सेवा सक्रिय हुनेछ ।

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले सुपर वालेटले औपचारिक बैंकिङ पहुँचभन्दा बाहिर रहेका नेपालीलाई समेट्दै वित्तीय समावेशीकरणमा टेवा पुर्याउने बताएका छन् । उनका अनुसार यो सुविधा बचत संस्कार विकास गर्ने र प्रयोगकर्ताको सानो रकमलाई समेत बढाउने प्रभावकारी माध्यम बन्नेछ । खल्ती अब केवल भुक्तानी प्लेटफर्म मात्र नभई वित्तीय अनुशासन र बचत प्रवर्द्धन गर्ने माध्यमका रूपमा स्थापित हुने कम्पनीको विश्वास छ ।  

Share News