बुधबार बाँडफाँड हुँदै टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) भोलि (बुधबार) बाँडफाँड हुने भएको छ। 

कम्पनीको सेयर बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा भोलि बिहान ९ बजे आईपीओ बाँडफाँड गर्ने तयारी गरिएको हो ।

कम्पनीले गत वैशाख २३ गतेदेखि वैशाख २८ गतेसम्म सर्वसाधारणका लागि आईपीओ खुला गरेको थियो ।  आईपीओमा मागभन्दा धेरै गुणा बढी आवेदन परेका कारण गोलाप्रथा माध्यमबाट भाग्यमानी आवेदकहरूलाई मात्र १०/१० कित्ताका दरले सेयर बाँडफाँड गरिने जनाइएको छ ।

कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत अर्थात् ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराबरको कुल ४२ लाख ३० हजार ६६८ कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । 

जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि १२ लाख कित्ता र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई विदेशमा रोजगार गरिरहेका नेपालीहरूका लागि ३ लाख ३ हजार ६७ कित्ता सेयर निष्कासन गरी यसअघि नै बाँडफाँड भइसकेको छ ।

स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर छुट्ट्याएपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरूका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २५ करोड १५ लाख ४५ हजार ५०० रुपैयाँ बराबरको २५ लाख १५ हजार ४५५ कित्ता सेयर निष्कासन गरेको हो । 

Share News