सेबोन अध्यक्ष छनोटका लागि ४ जना सर्टलिस्टमा, को-को परे ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिले ४ जनाको संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरेको छ । छनोट सिफारिस समितिले डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपाल प्रसाद भट्टको ना सर्टलिस्टमा राखेको हो । 

धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार अध्यक्ष नियुक्तिका लागि नाम सर्टलिस्टमा राखिएको सिफारिस समितिले जनाएको छ । समितिले वैशाख १५ गते इच्छुक व्यक्तिहरूसँग आवेदन माग गरेको थियो । तोकिएको समयभित्र ४७ जनाले आवेदन दिएकोमा चार जनाको नाम सर्टलिस्ट गरिएको समितिले जनाएको छ ।

समितिका अनुसार सर्टलिस्टमा परेकाहरूलाई आगामी जेठ ८ गते शुक्रबार अर्थ मन्त्रालयमा अन्तर्वार्ताका लागि बोलाइएको छ । कार्यतालिका अनुसार डा. नवराज अधिकारीसँग दिउँसो १ बजे, विनयदेव आचार्यसँग १:३० बजे, मुकुन्द कुमार क्षेत्रीसँग २ बजे तथा डा. गोपाल प्रसाद भट्टसँग २:३० बजे छलफल हुने जनाएको छ । 

सर्टलिस्टमा परेकाहरूमा डा. अधिकारी रधितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक हुन् । उनले एक महिना अघि मात्रै बोर्डबाट अवकाश पाएका थिए । यस्तै, आचार्य हाल बोर्डको कार्यकारी निर्देशक छन् । यस्तै, क्षत्री र डा भट्ट भने राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् ।

सिफारिस समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका सदस्य डा. सञ्जय आचार्य रहेका छन् भने सदस्यमा अर्थसचिव घनश्याम उपाध्याय र पूर्वबैंकर भुवन दाहाल रहेका छन् । यसअघि सिफारिस समितिको संयोजक योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट थिए । तर, उनका दाइ गोपालले आवेदन दिएपछि गुणाकरले राजीनामा दिएका थिए । 

Share News