काठमाडौं । नेपाल प्रहरीले तीन वर्षीय रणनीतिक योजनामा प्रविधियुक्त र कृत्रिम बौद्धिकता एआईलाई प्राथमिकता बनाउने भएको छ । प्रविधियुक्त प्रमाणमुखी अनुसन्धानलाई आधार बनाएर काम गर्नेगरी रणनीति सार्वजनिक भएको हो ।
मंगलबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा नेपाल प्रहरी रणनीतिक योजना २०८३/८५ सार्वजनिक गर्दै प्रविधियुक्त, प्रमाणमुखी र सूचनामा आधारित अनुसन्धानलाई अगाडि बढाउने रणनीति लिइएको छ ।
प्रहरीले एआईको सहयोग लिएर संगठनको क्षमता कार्यक्षमता बढाउने जनाएको छ । सेवा प्रवाहमा प्रभावकारीता बढाइ नागरिकको पहुँचमा अभिवृद्धि गर्ने रणनीति लिएको छ ।
अनुसन्धानात्मक क्षमताको विकासद्वारा अपराध अनुसन्धानको प्रभावकारिता अभिवृद्धि गर्ने लक्ष्य लिएको छ । जनसहभागिता र नागरिकसँग प्रत्यक्ष रूपमा समन्वय गर्ने प्रहरीले जनाएको छ ।
नागरिकसँगको समन्वयलाई प्रवर्द्धन गर्दै समुदायमा प्रहरीलाई अपनत्व महसुस गराउने उल्लेख गरिएको छ ।
प्रहरीसँग साझेदारी र समस्या केन्द्रित प्रहरी सेवाको माध्यमबाट अपराध रोकथाम तथा नियन्त्रण गरिने बताइएको छ ।
प्रहरीलाई शान्ति सुरक्षा तथा विपद व्यवस्थापनमा विशिष्टीकृत क्षमता अभिवृद्धि गर्ने रणनीति लिएको छ । समाजलाई शान्ति सुरक्षा प्रदान गर्न प्रहरीको क्षमता बढाएर शान्ति सुव्यवस्था कायम र जनधनको सुरक्षा रणनीति बनाएको छ ।
प्रहरीको उपयुक्त संगठन संरचना बनाइने पनि रणनीतिमा उल्लेख छ । नीतिगत रुपमा प्रहरीले स्पष्ट अडान लिने कार्यक्षेत्रमा कुशलता प्रदर्शन गरिने २०८३र८५ को रणनीतिले लिएको छ ।
विशिष्टीकृत, दक्ष र उच्च मनोबलयुक्त प्रहरी जनशक्तिको विकास गर्ने रणनीतिमा बताइएको छ । प्रहरीका भौतिक पूर्वाधार, स्रोत साधन तथा सहायक सेवाहरूको सुदृढीकरण गरेर प्रहरी कर्मचारीको कार्यक्षमता बढाएर सेवाको प्रभावकारीता बढाउने भएको छ ।
रणनीतिक योजनाको कार्यान्वयन र अनुगमनको पाटोलाई समेत प्रभावकारी बनाउने भएको छ । विगतको योजना कार्यान्वयनमा देखिएका समस्या तथा कमजोरीहरूको पूर्वानुमान गरी सम्भावित चुनौतीहरूको निराकरण गर्ने उपायसमेत पेश गरेको छ ।
प्रहरीले प्रभावकारी कार्यान्वयनको गर्न वार्षिक कार्ययोजनाहरू निर्माण बनाउने भएको छ । प्रहरी महानिरीक्षकले इलाका प्रहरी कार्यालयसम्मको कार्यालय प्रमुखहरूले आ-आफ्नो सुपरिवेक्षकसँग गर्ने कार्यसम्पादन सम्झौताको सम्पन्न गर्ने रणनीतिमा उल्लेख छ ।
त्रिवर्षीय रणनीतिमा प्रविधिलाई फोकस गरिएको प्रहरीको केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेले बताए । प्रविधिसँगै कार्यक्षमताको विकास गर्ने लक्ष्यसहित रणनीति ल्याइएको उनले बताए ।
‘प्रहरीले सधैँभरि परम्परावादी कार्य गरेर मात्र अगाडि बढ्न सक्दैन,’ उनले भने, ‘कार्य सम्पन्न गर्न सहज होस भनेर एआईलाई प्राथमिकतामा राखिएको छ ।’
रणनीतिमा साइबर अपराध नियन्त्रण गर्नका लागि प्रहरीले प्रविधिलाई फोकस गरिएको काफ्ले बताउँछन् । डिजिटल फरेन्सिक ल्याबको विकास गर्नुपर्ने अवस्था रहेको उनले बताए ।
विभिन्न प्रविधिलाई खुला गराउनका लागि पनि नेपालमा उच्च स्तरका प्रविधि नभएको उनले जानकारी दिए । जेनजी आन्दोलनका केही प्रविधिलाई खुला गराउन भारतको डिजिटल फरेन्सिक ल्याबमा लगिएको काफ्लेले खुलाए । प्रहरी कार्यालयदेखि कार्यशैलीसमेत प्रविधिमैत्री बनाइने उनले बताए ।
प्रविधिबाट हुने अपराधलाई न्यूनीकरण गर्दै लैजानका लागि प्रविधिको विकास गर्नुपर्ने उनको भनाइ छ ।
प्रहरीसमक्ष बजेट पर्याप्त नहुँदा रणनीतिक योजना पुरा गर्न नसकिने जस्ता चुनौती सामना गर्नुपर्ने देखिएको उनले खुलाए । आवश्यक जनशक्तिको पनि व्यवस्थापन तथा विस्तार कार्य क्षमता वृद्धि गर्नुपर्ने उनको भनाइ छ ।
भौतिक संरचनाको निर्माणदेखि पुराना भवनलाई मजबुत बनाउने रणनीतिमा राखिएको उनले बताए । प्रहरीले धेरै पुराना संरचानामा बसेर सेवा प्रवाह गरिरहेको उनले प्रस्ट पारे ।
‘सरकारी क्षेत्रबाट नागरिकसँग सबैभन्दा नजिक रहेर प्रहरीले मात्र काम गरेको छ,’ काफ्लेले अगाडि भने, ‘नागरिकको तहबाट प्रहरीलाई नैतिक समर्थनसमेत छ । प्रहरीले अहिले ल्याएको रणनीति नागरिकको सुरक्षाकै निम्ति हो ।’
डीएनए परीक्षण गर्न लाग्ने समय घटाइ थप प्रविधिको विकास गर्ने उनले सुनाए । प्रविधिको अभाव हुँदा प्रवक्ता काफ्लेले कतिपय अनुसन्धानको काम प्रहरीले गर्न नसकिरहेको सुनाए ।
उनका अनुसार त्रिवर्षीय रणनीतिमा प्रहरीले प्रविधिलाई प्राथमिकतामा राखेको छ । बजेट व्यवस्थापन र जनशक्तिलाई मुख्य चुनौतीको रुपमा लिएको छ ।
अपराध न्यूनीकरणमा तथा सभ्य समाज बनाउने रणनीतिलाई चासोको राखिएको काफ्लेले बताए ।