डोङफेङद्वारा थप सेयर खरिद, प्रिमियम ईभी ब्रान्ड भोयामाथि नियन्त्रण अझ मजबुत

काठमाडौं । डोङफेङ मोटरको एक सहायक कम्पनीले प्रिमियम विद्युतीय सवारी (ईभी) ब्रान्ड भोया अटोमोटिभमा थप सेयर खरिद गर्दै आफ्नो नियन्त्रण अझ सुदृढ बनाएको छ ।

भोयाले बुधबार जानकारी दिँदै डोङफेङ मोटर (हङकङ) इन्टरनेशनलले सेकेन्डरी बजारमार्फत २ करोड १ लाख ९० हजार सेयर खरिद गरेको जनाएको छ, जुन कम्पनीको कुल जारी पूँजीको करिब ०.५५ प्रतिशत हो ।

यो खरिदपछि डोङफेङ मोटर र यससँग सम्बन्धित निकायहरूको संयुक्त हिस्सेदारी करिब ७०.०२ प्रतिशत पुगेको छ, जसले कम्पनीमाथिको नियन्त्रण थप बलियो बनाएको छ । हाल नियन्त्रणकारी सेयरधनीहरूले २ अर्ब ४३ करोड ८० लाखभन्दा बढी घरेलु सेयर तथा करिब १३ करोड ८० लाख सेयर स्वामित्वमा राखेका छन् ।

सन् २०२० को अन्त्यतिर सार्वजनिक भई २०२१ मा औपचारिक रूपमा स्थापना भएको भोयाले मुख्य रूपमा २ लाखदेखि ५ लाख युआन मूल्य वर्गका सवारी उत्पादन गर्दै आएको छ ।

डोङफेङले अगस्ट २०२५ मा भोयालाई 'लिस्टिङ बाइ इन्ट्रोडक्सन' प्रक्रियामार्फत हङकङ स्टक एक्सचेन्जमा सूचीकृत गर्ने घोषणा गरेको थियो । यस प्रक्रियामा नयाँ सेयर जारी नगरी पहिल्यै जारी भएका सेयरलाई मात्र बजारमा कारोबारका लागि उपलब्ध गराइन्छ ।

यसै वर्ष मार्च १९ मा भोया ०७४८९ स्टक कोड अन्तर्गत हङकङ स्टक एक्सचेन्जमा सूचीकृत भएको थियो ।

वित्तीय प्रदर्शनतर्फ, भोयाले सन् २०२५ मा १ अर्ब २ करोड युआन खुद नाफा कमाएको जनाएको छ । कम्पनीको आम्दानी सन् २०२३ को १२ अर्ब ७५ करोड युआनबाट बढेर २०२५ मा ३४ अर्ब ८६ करोड युआन पुगेको छ ।

यस अवधिमा गाडी बिक्री ५० हजार २८५ युनिटबाट बढेर १ लाख ५० हजार १६९ युनिट पुगेको छ । साथै, चालु वर्षको पहिलो चार महिनामा मात्रै कम्पनीले ४९ हजार ३८ वटा गाडी ग्राहकलाई हस्तान्तरण गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३६.०२ प्रतिशतले बढी हो ।  

Share News