पश्चिमी वायुको प्रभाव: पहाडी क्षेत्रमा वर्षा हुने, तराई सफा रहने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभावका कारण देशको पहाडी तथा हिमाली भू-भागमा सामान्यतया बदली रहेको छ भने बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण बुधबार केही जिल्लामा भारी वर्षासमेत भएको थियो ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्यतया बदली रहनेछ । साथै मधेस प्रदेशसहित बागमती र गण्डकी प्रदेशका तराई भू-भाग तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा तथा मधेस, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै बागमती र गण्डकी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्यतया बदली रहनेछ भने मधेस प्रदेशसहित बागमती र गण्डकी प्रदेशका तराई भू-भाग तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेस प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Share News