सिजेएनका सदस्यले केएमसीमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट पाउने

काठमाडौं । भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)ले नेपाल सहकारी पत्रकार समाज (सिजेएन)मा आबद्ध सदस्य तथा उनीहरुका परिवारलाई स्वास्थ्य उपचार सेवामा ५० प्रतिशतसम्म छुट दिने भएको छ । 

केएमसी र सिजेएनबीच बुधबार भएको सम्झौता अनुसार समाजमा आबद्ध सञ्चारकर्मी र उनीहरुका परिवारले अस्पतालमा उपचार गर्दा विभिन्न स्वास्थ्य सेवामा छुट सुविधा प्राप्त गर्ने भएका हुन् ।

सम्झौता अनुसार अस्पतालले सिजेएनका सदस्य तथा उनीहरुका परिवार बिरामी भई उपचारका लागि आउँदा लाग्ने विभिन्न सेवा शुल्कमा २५ प्रतिशतसम्म छुट दिने व्यवस्था छ । यद्यपि २०८३ असार ३० गतेसम्मका लागि भने अस्पतालले ५० प्रतिशत सम्म छुट दिने भएको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्थाहरुसंग सहकार्य गर्दै आएको केएमसीले सिजेएनका सदस्यहरुलाई प्राथमिकताका आधारमा सेवा उपलब्ध गराउने जनाएको छ । सम्झौता अनुसार अस्पतालले सामान्य बेड शुल्कमा २५ प्रतिशत तथा क्याबिन सेवामा १० प्रतिशत छुट दिने व्यवस्था गरेको छ ।

यसैगरी आईसीयू, एचडीयू, सीसीयू तथा ओटी सेवा शुल्क, ल्याब जाँच, सिटी स्क्यान र एमआरआई, एक्स–रे, यूएसजी, डेन्टल एक्स–रे, ईसीजी, एन्डोस्कोपी, कोलोनोस्कोपी, विभिन्न निदानात्मक परीक्षण, फिजियोथेरापी लगायत सेवामा २५ प्रतिशतसम्म छुट उपलब्ध गराउने उल्लेख गरिएको छ ।

अस्पतालले डेन्टल उपचार अन्तर्गत स्केलिङ, आरसीटी, फिलिङ तथा प्रोस्थेसिस सेवामा पनि २५ प्रतिशत छुट प्रदान गर्ने भएको छ । ईआरसीपी, एमआरसीपी, एन्जियोग्राम, एन्जियोप्लास्टी तथा न्यूरो इन्टरभेन्सन सेवामा समेत २५ प्रतिशत छुटको व्यवस्था गरेको छ ।

यद्यपि क्याथ ल्याब सामग्री, स्टेन्ट, गाइड वायर, बेलुन लगायतका उपभोग्य सामग्री तथा प्रत्यारोपण सेवामा भने कुनै छुट नहुने सम्झौतामा उल्लेख छ । 

सम्झौता अनुसार सेवा लिनका लागि बिरामीले आफ्नो परिचयपत्र, नागरिकता वा आवश्यक कागजात अस्पतालमा पेश गर्नुपर्नेछ । १६ वर्ष मुनिका बालबालिकाको हकमा जन्म दर्ताको प्रतिलिपि अनिवार्य साथमा ल्याउनुपर्ने व्यवस्था छ ।

नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा, सामाजिक सुरक्षा, विपन्न नागरिक, ज्येष्ठ नागरिक, औषधि उपचार कोष लगायतको स्वास्थ्य उपचार सेवाहरु पूर्ण रुपमा उपयोग गरिसकेपछि मात्र अस्पतालले सम्झौता अनुसारको थप सुविधा प्रदान गर्ने जनाएको छ ।

यसैगरी सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमामा आबद्ध कर्मचारी तथा बिरामीहरुको सहजताका लागि अस्पतालले छुट्टै काउन्टरको व्यवस्था गरेको छ । सामाजिक सुरक्षा कोष तथा स्वास्थ्य बीमामा आबद्ध कर्मचारीका हकमा सम्बन्धित कार्ड अनिवार्य गरिएको छ ।

सम्झौतापत्रमा केएमसीका तर्फबाट प्रशासनिक प्रबन्धक अर्चना थापा तथा जनसम्पर्क प्रमुख सुधा कट्टेल र सिजेएनका तर्फबाट अध्यक्ष अर्जुन खतिवडा र सचिव माधवकुमार खड्काले हस्ताक्षर गरेका छन् । 

Share News