महालक्ष्मी विकास बैंक ३२औँ वर्षमा प्रवेश, विविध सामाजिक कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंक ३२औँ वर्षमा प्रवेश गरेको अवसरमा बैंकले जेष्ठ २ गतेदेखि जेष्ठ ७ गतेसम्म विभिन्न सामाजिक, वित्तीय तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरी वार्षिकोत्सव मनाएको छ ।

वार्षिक उत्सवअन्तर्गत जेष्ठ २ गते बैंकको केन्द्रीय, प्रादेशिक तथा शाखा कार्यालयका कर्मचारीहरूको सहभागितामा वित्तीय साक्षरता सहितको प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा मोबाइल बैंकिङ, स्मार्ट क्यूआर, निक्षेप, कर्जा तथा विप्रेषणलगायत बैंकिङ सेवासम्बन्धी जानकारी प्रदान गरिएको बैंकले जनाएको छ ।

त्यसैगरी, जेष्ठ ४ गते केन्द्रीय कार्यालयमा बृहत् निःशुल्क स्वास्थ्य शिविर तथा जेष्ठ ५ गते दन्त तथा आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो। यी शिविरहरूबाट करिब २०० जनाले लाभ लिएका थिए ।

वार्षिकोत्सवकै अवसरमा जेष्ठ ६ गते देशभरका विभिन्न कार्यालयहरूमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो, जसबाट करिब २०० पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ । रगत व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

यसै अवसरमा बैंकले विभिन्न स्थानका महालक्ष्मी मन्दिरहरूमा सरसफाइ सामग्री वितरण गर्नुका साथै ललितपुरको महालक्ष्मीस्थानस्थित मन्दिरमा बगैंचा व्यवस्थापन र डिजिटल दक्षिणा प्रवर्द्धनका लागि सहयोग गरेको छ ।

जेष्ठ ७ गते बैंकका कर्मचारीहरू स्थानीय भेषभूषामा उपस्थित भई सांस्कृतिक विविधता झल्काउने कार्यक्रम आयोजना गरिएको थियो । सोही दिन नारायणहिटीस्थित गुठी व्यवस्थापन समितिलाई खानेपानी व्यवस्थापनका लागि पानी ट्यांकी हस्तान्तरण गरिएको छ ।

यसैबीच, बैंकले 'महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता' अन्तर्गत संकलित तस्बिरहरूको प्रदर्शनी समेत केन्द्रीय कार्यालयमा आयोजना गरेको छ, जसको उद्देश्य स्थानीय साना तथा मझौला व्यवसायको प्रवर्द्धन गर्नु रहेको छ ।

बैंकले विगत चार वर्षदेखि सञ्चालन गर्दै आएको महालक्ष्मी कर्पोरेट क्रिकेट प्रतियोगिताको पाँचौँ संस्करण पनि यही जेष्ठ महिनामा आयोजना गर्ने जनाएको छ ।    

Share News