२७ कम्पनीले तिरेनन् सरकारलाई कर

काठमाडौं । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले लामो समयदेखि कर बक्यौता नतिर्ने २७ वटा फर्म तथा कम्पनीलाई बक्यौता रकम दाखिला गर्न निर्देशन दिएको छ ।

कार्यालयले फोन सम्पर्क, एसएमएस तथा पत्राचारमार्फत पटक-पटक जानकारी गराउँदा पनि हालसम्म कर दाखिला नगरेको तथा केही करदाता सम्पर्कमा नआएकाले १५ दिनभित्र चुक्ता गर्न निर्देशन दिएको हो ।

कार्यालयका अनुसार १५ दिनभित्र बक्यौता रकम दाखिला नगरे मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २१(१) तथा आयकर ऐन, २०५८ को दफा १०३ देखि १११ बमोजिम कानुनी कारबाही प्रक्रिया अघि बढाइनेछ ।

कार्यालयले बक्यौता फर्छ्याैट नगर्ने करदाताको चलअचल सम्पत्ति कब्जा गर्ने, लिलाम बिक्री गर्ने, बैंक तथा वित्तीय संस्थामा रहेको रकम रोक्का गर्ने, खाताबाट रकम कट्टा गर्ने तथा कारोबारसमेत रोक्का गर्न सकिने चेतावनी दिएको छ ।

संयुक्त उपक्रम (जेभी) का हकमा सम्बन्धित फर्मका सञ्चालक, साझेदार वा प्रोप्राइटरलाई व्यक्तिगत रूपमा जिम्मेवार बनाइने र उनीहरूको व्यक्तिगत सम्पत्तिबाट समेत कर असुल गरिने कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार बैजनाथ मोटर्स, शिवशक्ति-सुपिरियर-मालिका जेभी, गणपति कन्स्ट्रक्सन, ममताज बैंकिङ बेल्स, गोपाञ्जल ट्रेडर्स, इन्द्रधनु-हटैराज जेभी, महाकाली मिडिया, लक्की ट्रेडर्स, न्यु भुवनेश्वरी इँटा टायल उद्योग, भवानी इँटा उद्योग, पुष्पाञ्जली-आरबी जेभी, सेती महाकाली कपी उद्योग, जय बजरंगबली निर्माण सेवाले आय कर तथा मूल्य अभिवृद्धि कर तिरेका छैनन् । 

यस्तै, गुरुकुल इन्स्टिच्युट अफ टेक्निकल एजुकेसन, लुम्बिनी-राजेन्द्र-डाँफे जेभी, चन्द काष्ठ फर्निचर सप्लायर्स, मालिका-एचटिसी जेभी, जी फाइभ ट्रेडिङ/नवदुर्गा पशुपंक्षी फर्म, एसके निर्माण सेवा प्रालि, केएस-मित्र जेभी, सिद्धनाथ कन्स्ट्रक्सन, कान्छाराम-राजेन्द्र जेभी, लुम्बिनी-राजेन्द्र-समानान्तर जेभी, महाकाली कन्स्ट्रक्सन कम्पनी/महाकाली कन्सर्न, एवन सिमेन्ट इँटा तथा सेनेटरी उद्योग, जयलक्ष्मी कन्स्ट्रक्सन र न्यू गंगा ट्रेडर्सले आय कर तथा मूल्य अभिवृद्धि कर तिर्न बाँकी रहेको कार्यालयले जनाएको छ । 

उक्त फर्म तथा कम्पनीहरू कञ्चनपुर, कैलाली र बैतडी जिल्लाका विभिन्न स्थानीय तहमा सञ्चालनमा रहेका छन् । तीमध्ये केहीमाथि मूल्य अभिवृद्धि कर (भ्याट) बक्यौता रहेको छ भने केहीमाथि आयकर बक्यौता रहेको कार्यालयले जनाएको छ ।

null

Share News