काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि तीनजनाको मात्रै उम्मेदवारी परेको छ । शुक्रबार (आज) भइरहेको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका लागि सुरकृष्ण वैद्य, हेमराज ढकाल र रामचन्द्र संघाईले उम्मेदवारी दिएका हुन् ।
यसअघि वरिष्ठ उपाध्यक्ष पदका लागि भरतराज आचार्य र किशोर प्रधान पनि आकांक्षी देखिए पनि अन्तिममा उनीहरूले उम्मेदवारी दिएनन् ।
यस्तै, कोषाध्यक्ष पदका लागि दुई जनाको मात्रै उम्मेदवारी परेको छ । कोषाध्यक्षका लागि अम्बिका प्रसाद पौडेल र मनिषलाल प्रधान प्रतिस्पर्धामा रहेका छन् । यसअघि भक्तबहादुर हमालले पनि कोषाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरे पनि अन्तिममा उनी पछि हटे ।
वरिष्ठ उपाध्यक्षका उम्मेदवार वैद्य र कोषाध्यक्षका उम्मेदवार प्रधानलाई महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सहयोग गर्नेछन् । यस्तै, हेमराज ढकाललाई निवर्तमान अध्यक्ष चन्द्र प्रसाद ढकालले सहयोग गर्नेछन् ।
साथै वरिष्ठ उपाध्यक्षका उम्मेदवार संघाई र कोषाध्यक्षका उम्मेदवार पौडेललाई एशोसिएट उपाध्यक्ष प्रवलजंग पाण्डेले अघि सारेका हुन् ।
महासंघको विधानअनुसार नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरूले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनका लागि मतदान गर्ने व्यवस्था रहेको छ ।
