ठमेलमा प्रहरीमाथि हातपात गर्ने सात जना विदेशी महिला पक्राउ

सांकेतिक तस्विर

काठमाडौं । ठमेलमा प्रहरीमाथि हात हाल्ने सात जना विदेशी महिला पक्राउ परेका छन् । बिहीबार उनीहरूले डयुटीमा खटिएका प्रहरी कर्मचारीहरू माथि गालीगलौज गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको थियो । 

विदेशी महिलाले ठमेल एरियामा बाटो हिँड्ने विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषहरूलाई अनावश्यक रूपमा बाटो छेक्ने गरेका थिए । उनीहरुले अश्लील क्रियाकलाप सम्बन्धी मोलमोलाई गरेर दुःख हैरानी दिने काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए ।

प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । यसअघि पनि ठमेलबाट ९ जना विदेशी महिला पक्राउ परिसकेका छन् । 

प्रहरीले उनीहरू सबैलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । केही महिनाअघि ठमेलबाट युगाण्डा महिलाहरू समेत पक्राउ परिसकेका थिए । उनीहरूलाई अध्यागमन विभागले एक वर्षसम्म नेपाल आउन नपाउने गरेर स्वदेश फिर्ता गरिसकेको छ ।
 

Share News