काठमाडौं । नक्कली नोट छाप्ने र कारोबारमा संलग्न भारतीयसहित दुई जना पक्राउ परेका छन् । बिहीबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतीय ३८ वर्षीय अब्दुल हमिद र २२ वर्षीय अनिल पासीलाई पक्राउ गरेको हो ।
प्रहरीले लुम्बिनी सांस्कृतिक नगरपालिकाको इलाकामा नक्कली नोटको कारोबार हुने गरेको गोप्य सूचनाका आधारमा प्रारम्भिक अनुसन्धान बढाएको थियो ।
प्रहरी कार्यालयका अनुसार खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलिले नोट छाप्न प्रयोग गरिने कम्प्युटर, प्रिन्टर, कैची तथा प्रिन्ट हुन बाँकी, प्रिन्ट गरिएका अवस्थामा रहेका नक्कली नोट समेतका सामानहरू सहित पक्राउ परेका हुन् । नेपाली ५०० दरको ३० थान, नेपाली १००, ५०० र १००० दरको प्रिन्ट भई कटिङ्ग नगरेको नोट ७ थान रहेका छन् ।
नक्कली नोट प्रिन्ट गर्न प्रयोग गरेको सीपीयु १ थान, नक्कली नोट प्रिन्ट गर्न प्रयोग गरेको प्रिन्टर १ थान, नक्कली नोट प्रिन्ट गर्न प्रयोग गरेको मोनिटर १ थान, प्रिन्ट पेपर रिम ४ थान, मोवाईल ८ थान र कैची १ थान रहेका छन् ।
।