काठमाडौं । हार्भेष्ट मुन ट्राभल्स एण्ड टुर्स प्रालिले एक वर्षमा साढे ३ अर्ब रुपैयाँ बराबरको हवाई टिकट बिक्री गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब ६८ करोड रुपैयाँको हवाई टिकट बिक्री गरेको हो । यो अघिल्लो वर्षको तुलनामा १३.८९ प्रतिशत अर्थात् ५९ करोड ४० लाख रुपैयाँ कम हो । अघिल्लो आव २०८०/८१ मा ४ अर्ब २७ करोड ४० लाख रुपैयाँको हवाई टिकट बिक्री गरेको थियो ।
कम्पनीले मलेसियाले लागू गरेको श्रमिकसम्बन्धी प्रतिबन्धका कारण गत वर्ष हवाई टिकट बिक्री घटेको जनाएको छ । तर, पछिल्लो समय उक्त प्रतिबन्ध हटेपछि वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या बढ्नुका साथै हवाई टिकटको माग बढ्दै व्यापारमा सुधार हुने देखिएको कम्पनीको दाबी छ ।
चालु वर्षको ९ महिनासम्म कम्पनीले २ अर्ब ५१ करोड रुपैयाँको हवाई टिकट बिक्री गरेको जनाएको छ । यद्यपि वार्षिक आधारमा करिब ९ प्रतिशत गिरावट आएको कम्पनीको भनाइ छ । गत भदौमा भएको जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक अस्थिरतासँगै खाडी मुलुकहरूले नेपाली नागरिकका लागि भिसा नियम कडा बनाएपछि व्यापार प्रभावित भएको कम्पनीले जनाएको छ ।
कम्पनीले आव २०७९/८० मा ६ अर्ब ७९ करोड ३० लाख रुपैयाँ, आव २०७८/७९ मा ३ अर्ब ८७ करोड ७० लाख रुपैयाँ, आव २०७७/७८ मा ९१ करोड ६० लाख रुपैयाँ बराबरको हवाई टिकट बिक्री गरेको थियो ।
सन् १९९९ अगस्टमा स्थापना भएको कम्पनीले वैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली नागरिकलाई लक्षित गर्दै अन्तर्राष्ट्रिय हवाई टिकट बिक्री तथा यात्रा सेवा प्रदान गर्दै आएको छ । कम्पनीका प्रवर्द्धक रामप्रसाद श्रेष्ठ र सुलेखा श्रेष्ठ हुन् । उनीहरू सेयर स्वामित्व ५०-५० प्रतिशत रहेको जनाइएको छ । रामप्रसाद कम्पनीको अध्यक्ष र सुलेखा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को भूमिकामा छिन् ।
हार्भेष्ट मुन ट्राभल्स एण्ड टुर्स हार्भेष्ट मुन ग्रुप अन्तर्गतको कम्पनी हो । हार्भेष्ट मुन ग्रुपले ट्राभल, वैदेशिक रोजगारी, रियल इस्टेट, सपोर्ट सर्भिसेस र म्यानपावर व्यवस्थापनलगायत क्षेत्रमा सेवा विस्तार गर्दै आएको छ । ग्रुप अन्तर्गत वाइड स्पेस इन्टरनेशनल, हेलो हिमालय ट्राभल एण्ड टुरिज्म, वाइड स्पेस इन्टरनेशनल र सुहाना ल्याण्ड डेभलपमेन्ट सञ्चालनमा छन् ।

हार्भेष्ट मुन ट्राभल्स एण्ड टुर्स सन् २००७ मा अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीए) बाट मान्यता प्राप्त एजेन्ट र नेपाल पर्यटन तथा ट्राभल व्यवसायी संघ (नाट्टा) को सदस्य समेत हो ।
अन्तर्राष्ट्रिय हवाई टिकटिङ व्यवसायको सम्भावना आगामी दिनमा अझ सकारात्मक रहने अनुमान कम्पनीको छ । कोभिड-१९ सम्बन्धी कडाइ नियम हटाइनु, पर्यटन गतिविधिमा वृद्धि हुनु तथा नेपाली युवामा वैदेशिक रोजगारी र अध्ययनप्रतिको आकर्षण बढ्दै जानुले यस क्षेत्रलाई थप चलायमान बनाएको कम्पनीले जनाएको छ ।
सरकारको श्रम विभागबाट जारी हुने श्रम स्वीकृतिको संख्या बढ्दो क्रममा रहनु तथा पर्यटक आगमनमा निरन्तर सुधार आउनुले पनि व्यावसायिक सम्भावना बलियो रहेको कम्पनीको भनाइ छ । जसले कम्पनीको आम्दानी आगामी दिनमा पनि वृद्धिको दिशातर्फ रहने अनुमान कम्पनीको छ ।
कम्पनी वैदेशिक रोजगारीमा आधारित टिकट बिक्री व्यवसायमा केन्द्रित भएकाले गन्तव्य मुलुकका आप्रवासन नीति, श्रम स्वीकृति प्रक्रिया र श्रमिक मागमा आउने उतारचढावले व्यवसायमा प्रत्यक्ष असर पार्ने गरेको छ । त्यस्तै, पर्यटन क्षेत्रमा पनि मौसमी प्रभाव देखिने भएकाले विशेषगरी अक्टोबरदेखि डिसेम्बरसम्मको सिजनबाहेक अन्य समयमा कारोबार सुस्त हुने कम्पनीको भनाइ छ ।
सरकारले हवाई टिकटमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेपछि टिकट महँगो भई समग्र हवाई टिकटिङ उद्योगमै नकारात्मक असर परेको कम्पनीले जनाएको छ ।
कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब २५ करोड ६८ लाख रुपैयाँ ऋण लिएको छ । जसमा ६८ लाख रुपैयाँ दीर्घकालीन, ६५ करोड रुपैयाँ अल्पकालीन र ६० करोड रुपैयाँ अल्प तथा दीर्घकालीन ऋण रहेको कम्पनीले जनाएको छ ।