यौनधन्दाको ट्रान्जिट बन्दै ठमेल, एक सातामै २१ विदेशी समातिए

काठमाडौं । ठमेलमा आएर यौनधन्दाको बार्गेनिङ गर्ने थप ५ जना विदेशी महिला शनिबार पक्राउ परेका छन् । 

यससँगै एक सातामा २१ जना विदेशी महिला पक्राउ परेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।   

परिसरका अनुसार बिहीबार ९ जना, शुक्रबार ७ जना र शनिबार ५ जना पक्राउ परेका हुन् । 

उनीहरूमाथि जिल्ला प्रशासन कार्यालयबाट अभद्र व्यवहारमा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । 

उनीहरूले बाटामा हिँड्ने विदेशी तथा स्वदेशी पर्यटक, सर्वसाधारण पुरुषहरूलाई अनावश्यक रूपमा बाटो छेकी अश्लील क्रियाकलाप गर्ने गरेका थिए । 

यौनधन्दाका लागि मोलमोलाई गरेर दुःख हैरानी दिने र प्रहरी टोलीले सम्झाई बुझाई गर्दा ड्युटीमा खटिएका प्रहरी कर्मचारीहरूमाथि अपशब्द प्रयोग गर्ने गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए।

उनका अनुसार गालीगलौज गर्ने र प्रहरीलाई धक्कामक्का गर्ने गरेका थिए । प्रहरी वृत्त लैनचौरबाट खटिएका प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

यसअघि पनि ठमेलबाट १६ जना विदेशी महिला पक्राउ परिसकेका छन् । प्रहरीले उनीहरू सबैलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । 

केही महिनाअघि ठमेलबाट युगाण्डियन महिलाहरू समेत पक्राउ परेका थिए । 

उनीहरूलाई अध्यागमन विभागले एक वर्षसम्म नेपाल आउन नपाउने गरेर स्वदेश फिर्ता गरिसकेको छ ।

जरिवाना बुझाएर रिहा हुनेहरूलाई अध्यागमन विभागले स्वदेश पठाउने गरेको छ ।  जरिवाना  बुझाउन नसक्नेहरू कारागार चलान हुने गरेका छन् ।

Share News