काठमाडौं महानगरको छात्रवृत्तिमा २६ हजार बढीको आवेदन, त्रुटि सच्याउन २ दिनको समय

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरूमा कक्षा ११ र १२ मा छात्रवृत्ति पाउनका लागि २६ हजार ८८८ जना विद्यार्थीले अनलाइन आवेदन दिएका छन् । 

महानगरपालिकाको शिक्षा विभागका अनुसार आवेदन दिनेहरूमा १६ हजार ५४९ जना छात्र, १० हजार ३३३ जना छात्रा र ६ जना अन्य रहेका छन् । 

२३ हजार बढीको आवेदन स्वीकृत, त्रुटि सच्याउन आग्रहप्राप्त आवेदनहरूमध्ये हालसम्म २३ हजार ४९९ जनाको आवेदन स्वीकृत भइसकेको छ । 

बाँकी आवेदकहरूमध्ये ३ हजार ३०२ जनाको विवरणमा त्रुटि देखिएकाले त्यसलाई सच्याउन महानगरले आग्रह गरेको छ ।

शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार विवरण सच्याउनुपर्ने विद्यार्थीहरूलाई उनीहरूको मोबाइल र इमेलमार्फत सूचित गरिसकिएको छ ।

त्रुटि भएका आवेदकहरूले विवरण सच्याएर पुनः पेश गरिसक्नुपर्नेछ । 

तोकिएको समयभित्र आवश्यक कागजात वा विवरण अपलोड नगरेमा आवेदन स्वतः रद्द हुनेछ । हालसम्म आवश्यक प्रक्रिया नपुर्याएका, सबै ठाउँमा एउटै डकुमेन्ट राखेका तथा अनावश्यक कागजात संलग्न गरेका ८४ जनाको आवेदन अस्वीकृत भइसकेको छ । 

जेठ १३ गतेसम्म आवेदन फाराम स्वीकृत गर्ने प्रक्रिया जारी रहने महानगरले जनाएको छ । छात्रवृत्तिका लागि आवेदन दिने विद्यार्थीहरूमध्ये सबैभन्दा ठूलो संख्या विज्ञान विषय अध्ययन गर्न चाहनेहरूको  छ । विज्ञानमा १८ हजार ९९६, व्यवस्थापनमा ७ हजार २७१, कानुनमा ४०७, शिक्षामा १३५ र मानविकीमा ७९ जना विद्यार्थी रहेका छन् ।

विद्यार्थी र अभिभावकका लागि सहायता कक्षअनलाइन प्रणालीमार्फत आवेदन दिन कठिनाइ महसुस गर्ने विद्यार्थी र अभिभावकहरूलाई सहजीकरण गर्न महानगरको शिक्षा विभागमा सहायता कक्ष स्थापना गरिएको छ । 

त्यहाँबाट आवश्यक प्राविधिक सहयोग लिन सकिनेछ । प्रवेशपत्र र परीक्षा प्रणाली आवेदन स्वीकृत भएका विद्यार्थीहरूले जेठ १४ गते बिहान १० बजेपछि फाराम भरेकै वेबसाइटमा गएर आफ्नो प्रवेश पत्र डाउनलोड गरी कलर प्रिन्ट गर्न सक्नेछन् । 

परीक्षा केन्द्र र परीक्षा सम्बन्धी अन्य विस्तृत विवरण प्रवेश पत्रमै उल्लेख हुनेछ।कक्षा १० सम्मको छात्रवृत्ति वडास्तरीय समितिको सिफारिसमा हुने गरे पनि कक्षा ११ र १२ को हकमा भने शिक्षा विभागले परीक्षा सञ्चालन गर्नेछ । 

परीक्षापछि योग्यता क्रम र म्याचिङ लिष्टका आधारमा विद्यार्थीको नाम सिफारिस गरिनेछ। यसरी छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीहरूले कक्षा ११ र १२ मा कुनै पनि प्रकारको शैक्षिक शुल्क तिर्नुपर्ने छैन ।
 

Share News