काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा 'फिन इलेक्ट्रो–टेक २०२६' नामक अन्तर्राष्ट्रिय स्तरको बृहत् प्रदर्शनी आगामी जेठ २२ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने भएको छ ।
विद्युत, इलेक्ट्रोनिक्स, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रसँग सम्बन्धित यस प्रदर्शनीमा आधुनिक तथा सुरक्षित प्रविधिको प्रदर्शन गरिने आयोजकले जनाएको छ । नेपालमा जलविद्युत उत्पादन, विद्युत पहुँच विस्तार र डिजिटल प्रविधिको प्रयोग तीव्र बन्दै गइरहेको अवस्थामा गुणस्तरीय विद्युतीय सामग्रीको आवश्यकता बढ्दो छ ।
उक्त आवश्यकतालाई मध्यनजर गर्दै उपभोक्ता, व्यवसायी तथा प्राविधिक जनशक्तिलाई अन्तर्राष्ट्रिय मापदण्ड, सुरक्षा प्रणाली तथा ऊर्जा दक्ष प्रविधिबारे जानकारी दिने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको हो ।
आयोजकका अनुसार प्रदर्शनीले स्वदेशी उत्पादन प्रवद्र्धन, विदेशी प्रविधि तथा लगानी भित्र्याउने, व्यवसायिक नेटवर्क विस्तार गर्ने तथा अन्तर्राष्ट्रिय व्यापार सहकार्य मजबुत बनाउने अपेक्षा गरिएको छ । साथै ऊर्जा, पूर्वाधार र स्मार्ट प्रविधिसँग सम्बन्धित नयाँ अवसरहरूको पहिचानमा पनि यसले योगदान गर्ने विश्वास गरिएको छ ।
चार दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा नेपालसहित विभिन्न देशका कम्पनी, उत्पादक, आयातकर्ता, वितरक तथा प्रविधि प्रदायकहरूको सहभागिता रहनेछ । प्रदर्शनीमा ट्रान्समिसन तथा डिष्ट्रिब्युसन सामग्री, स्मार्ट ऊर्जा समाधान, औद्योगिक तथा घरेलु विद्युतीय उपकरण, वायर तथा केबुल, एलईडी लाइटिङ, स्मार्ट स्विच, सुरक्षा प्रणाली, सौर्य ऊर्जा, अटोमेसन प्रणाली र अत्याधुनिक आईटी सामग्री प्रदर्शन गरिनेछ ।
आगन्तुकहरूले एउटै स्थानमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका उत्पादन तुलना गर्न, नयाँ प्रविधिको अनुभव लिन र प्राविधिक जानकारी हासिल गर्न सक्नेछन् । यसले सुरक्षित विद्युतीय सामग्रीको प्रयोगबारे जनचेतना अभिवृद्धिमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रदर्शनीका सम्पूर्ण स्टल बुकिङ भइसकेका छन् । आयोजकका अनुसार टाइटल स्पोन्सरमा ट्रान्सवेल्ड ट्रान्सर्फमर, पावर बाईमा ह्याभेल्स, प्लेटिनम स्पोन्सरमा जनता के.इ.आई., डायमण्ड स्पोन्सरमा लेजर इन्डिया र ग्रेटहाइट इलेक्ट्रीकल्स रहेका छन् । गोल्ड स्पोन्सरमा ब्रिलेन्ट एलईडी रहेको छ भने अफिसियल बैंकमा नविल बैंक, इन्स्योरेन्समा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र क्यारियरमा एस.के.बी ग्रुप छन् ।
यसैगरी टेक्नोलोजी पार्टनरमा जुलाई टेक ल्याब्स, इन्टरनेट पार्टनरमा सजिलो नेट तथा व्यवस्थापन मिडिया स्पेसले गरिरहेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शलगायत विभिन्न संस्थाको सहयोग रहने उक्त प्रदर्शनीमा उद्योगी, व्यवसायी, इन्जिनियर, विद्यार्थी, सञ्चारकर्मी तथा सर्वसाधारण गरी हजारौं आगन्तुकको सहभागिता रहने अपेक्षा गरिएको छ ।