काठमाडौं । सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पीओसीओ एआई सर्भिस सेन्टर सञ्चालनमा आएको छ । टेली टक प्राइभेट लिमिटेडअन्तर्गतको कम्पनीले उक्त सर्भिस सेन्टर सञ्चालनमा ल्याएको घोषणा गरेको हो ।
नयाँ सर्भिस सेन्टरमार्फत पीओसीओ एआई ब्रान्डका स्मार्टफोन तथा सम्बन्धित डिभाइसहरूको आधिकारिक बिक्रीपछिको सेवा र प्राविधिक सहयोग उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
सानेपाको सहज पहुँचयुक्त स्थानमा स्थापना गरिएको यस अत्याधुनिक सर्भिस सेन्टरले ग्राहकलाई द्रुत, भरपर्दो तथा ग्राहक–मैत्री सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । सेन्टरमा दक्ष प्राविधिक टोली, आधुनिक डाइग्नोस्टिक उपकरण तथा गुणस्तरीय स्पेयर पार्ट्सको व्यवस्था गरिएको छ ।
नेपालमा स्मार्टफोन तथा प्रविधि उपकरणको प्रयोग तीव्र रूपमा बढ्दै गइरहेको अवस्थामा गुणस्तरीय बिक्रीपछिको सेवाको आवश्यकता पनि बढ्दो क्रममा रहेको छ । सोही आवश्यकतालाई ध्यानमा राख्दै कम्पनीले पीओसीओ प्रयोगकर्ताका लागि सहज र विश्वसनीय सेवा उपलब्ध गराउने उद्देश्यसहित यो सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ ।
ग्राहकहरूले सर्भिस सेन्टरमार्फत डिभाइस जाँच, सफ्टवेयर सपोर्ट, वारेन्टी सेवा, मर्मत, नियमित मर्मतसम्भार तथा प्राविधिक परामर्शजस्ता सेवा लिन सक्नेछन् ।
यस अवसरमा टेली टक प्राइभेट लिमिटेडका कार्यकारी निर्देशक सञ्जय अग्रवालले ग्राहकलाई छिटो, पारदर्शी तथा विश्वसनीय सेवा प्रदान गर्नु कम्पनीको प्रमुख उद्देश्य रहेको बताए । उनले नेपालमा पीओसीओ एआई ब्रान्डको सेवा पहुँच विस्तार गर्दै ग्राहक सन्तुष्टि थप मजबुत बनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।