काठमाडौं । कोटेश्वरबाट बल्खु जाने बसमा चढेर सुनको सिक्री लुट्ने चार जना पक्राउ परेका छन् ।
बुधबार बेलुकी कोटेश्वरबाट बल्खु जाने बसमा चढेर युवतीले लगाएको सिक्री लुटपाट गर्ने २९ वर्षीय जनक तामाङ, ३० वर्षीय साइमन भन्ने मन कुमार तामाङ, २५ वर्षीय उमेश मोक्तान र ३० वर्षीय अर्जुन तामाङ पक्राउ परेका हुन्।
ललितपुर प्रहरी परिसरका अनुसार कोटेश्वर हुँदै बल्खु जाँदै गरेको बसभित्र एक जना युवतीको घाटीमा लगाएको सुनको सिक्री चुँडालेर लुटिएको थियो ।
सिक्री लुटिएको सूचना प्राप्त हुनासाथ प्रहरी परिसर ललितपुर तथा मातहत प्रहरी प्रभाग, सानेपाबाट खटिएको प्रहरी टोलीले सानेपास्थित रिङरोड सडक खण्डमा बस रोकेर खानतलासी गरेका थिए ।
बसमा सवार यात्रुहरूको खानतलासी गर्दा लुटिएको सुनको सिक्रीसहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
चारै जनालाई जिल्ला प्रहरी परिसर, ललितपुरमा राखी चोरीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको परिसरका प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।
उनका अनुसार उनीहरूको रेकर्ड हेर्दा यसअघि समेत चोरी मुद्दामा संलग्न रहेको पाइएको छ ।