नेपालमा अल्ट्राभोइलेट इलेक्ट्रीक मोटरसाइकलको नयाँ वितरकमा वैद्यज अर्गनाइजेसन नियुक्त

काठमाडौं । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्यज अर्गनाइजेसन भारतीय प्रिमियम इलेक्ट्रीक मोटरसाइकल उत्पादक अल्ट्राभोइलेटको नेपालका लागि आधिकारिक वितरक र आयातकर्ता नियुक्त भएको छ । यसअघि केडिया ग्रुपले बिक्री गर्दै आएको यस ब्राण्डको डिलरशिप पाएसँगै प्रिमियम इलेक्ट्रीक स्कुटर एथर बिक्री गरिरहेको वैद्यज अर्गनाइजेसनले अब अल्ट्राभोइलेटका मोटरसाइकल पनि आफ्नो पोर्टफोलियोमा थपेको हो । 

यो साझेदारीसँगै कम्पनीले देशभर प्रिमियम शोरुम, अत्याधुनिक सर्भिस पूर्वाधार र भरपर्दो बिक्रीपछिको सेवा नेटवर्कसहित आक्रामक बजार विस्तारको योजना अघि बढाएको छ । 

अल्ट्राभोइलेटका सीईओ तथा सहसंस्थापक नारायण सुब्रमण्यम र वैद्यज अर्गनाइजेसनका सीईओ सूर्यांश वैद्यले यो सहकार्यले नेपालको ईभी मोटरसाइकल बजारलाई पूर्ण रूपमा नयाँ युगमा लैजाने र ग्राहकलाई अत्याधुनिक प्रविधिसहितको उत्कृष्ट राइडिङ अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

नयाँ डिलरशिप पाएसँगै कम्पनीले बजार विस्तारलाई तीव्र पार्दै आफ्नो सेगमेन्टमा इन्ट्रीग्रेटेड राडार भएको विश्वकै पहिलो मोटरसाइकल एक्स ४७ क्रसओभर नेपाल ल्याउने तयारी गरेको छ, जसको प्रि(बुकिङ छिट्टै सुरू हुनेछ । 

साथै, कम्पनीले नेपालमा अल्ट्राभोइलेटको लोकप्रिय मोडल एफ ७७ ओरिजिनलको सुरुवाती मूल्य ८ लाख ११ हजार रुपैयाँ र एफ ७७ रिकन को मूल्य ९ लाख ६९ हजार रुपैयाँ तोकेर बुकिङ खुला गरिसकेको छ ।

 एफ ७७ मोटरसाइकलमा १०.३ किलोवाट आवरको ब्याट्रीप्याक र ३० किलोवाटको मोटर जडान गरिएको छ, जसले एकपटकको फुल चार्जमा ३२३ किमीको रेन्ज र १५५ किमी प्रतिघण्टाको टप स्पीड दिन्छ । 

मात्र २.८ सेकेन्डमा ० देखि ६० किमीको रफ्तार समात्न सक्ने यो बाइकमा ३९ लेभल ट्रयाक्सन कन्ट्रोल, १० लेभल रिजेनेरेटिभ ब्रेकिङ प्रणाली, डाइनामिक स्टेबिलिटी कन्ट्रोल र हिल होल्ड जस्ता अत्याधुनिक सुरक्षा सुविधाहरू समावेश छन् ।

Share News