फलाखु खोला जलविद्युतमा एनआईसी एशिया बैंकको ९५ करोड लगानी

काठमाडौं । एनआईसी एशिया बैंकले जलविद्युत क्षेत्रमा लगानी विस्तारलाई तीव्रता दिएको छ ।

बैंकले रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकामा रहेको ७.२९ मेगावाट जलविद्युत उत्पादन क्षमता भएको फलाखु खोला जलविद्युत आयोजनामा ९५ करोड २० लाख रुपैयाँ लगानी गर्ने भएको हो ।

एक विशेष कार्यक्रमको आयोजनाका बीच बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) जयन्द्र रावल र रसुवा हाइड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष दीपक थापाले हस्ताक्षर गरे ।

नेपाल सरकारको स्वच्छ ऊर्जा उत्पादन लक्ष्यलाई सहयोग पुर्याउँदै दिगो ऊर्जा विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको यो जलविद्युत आयोजना आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

यस आयोजनाको निर्माण कार्य सम्पन्न भएपश्चात वार्षिक करिब ३८.७४ गिगावाट हावर विद्युत उत्पादन हुने जनाइएको छ । 

यस आयोजनाबाट मुलुकमा स्वच्छ ऊर्जा उत्पादन भई देशको आर्थिक वृद्धि र स्वच्छ वातावरणीय पक्षमा समेत टेवा पुग्ने विश्वास बैंकले लिएको छ । 

Share News