काठमाडौं । बागलुङको गलकोट नगर अस्पतालको सुविधा सम्पन्न भवन निर्माणका लागि आवश्यक जग्गा खरिदका लागि २ करोड ७९ लाख रुपैयाँ स्थानीयस्तरबाटै जुटाइएको छ । अस्पतालको जग्गा व्यवस्थापन, खरिद तथा स्वास्थ्य उपकरण खरिदका लागि सञ्चालन गरिएको सहयोग अभियानबाट उक्त रकम सङ्कलन गरिएको हो ।
गलकोट नगरपालिका आर्थिक तथा जग्गा व्यवस्थापन समितिका कोषाध्यक्ष टङ्कबहादुर केसीका अनुसार अभियानमार्फत हालसम्म २ करोड ७९ लाख ६२ हजार रुपैयाँ सङ्कलन गरिएको हो । रकममध्ये २ करोडबाट अस्पतालको जग्गा खरिदमा खर्च गरिएको छ भने १९ लाख १० हजार रुपैयाँ बराबरको एक्स-रे मेसिन खरिद गरिएको छ । समितिका अनुसार हालसम्म २ करोड २१ लाख ७५ हजार रुपैयाँ खर्च भइसकेको छ भने ७२ लाख ८७ हजार रुपैयाँ बैंक मौज्दात छ ।
गलकोट नगर अस्पतालको स्तर वृद्धि, पूर्वाधार विस्तार तथा दीर्घकालीन विकासका लागि आवश्यक जग्गा व्यवस्थापन गर्ने उद्देश्यले आर्थिक तथा जग्गा व्यवस्थापन समिति गठन गरी सहयोग सङ्कलन गरिएको थियो । अभियानमा देशका विभिन्न जिल्ला तथा विदेशमा रहेका गलकोटवासीले आर्थिक सहयोग गरेका थिए । गाउँमै अस्पतालको सुविधा सम्पन्न भवनसँगै अन्य पूर्वाधार थप गर्न स्थानीय जुटेका थिए ।
गलकोट नगरपालिका-५ हरिचौरस्थित गलकोट नगरपालिका अस्पताल अघिको जग्गा अस्पतालको नाममा बनाउन स्थानीयले सक्रियता जनाएको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले जानकारी दिए । उनले गलकोट नगर अस्पतालको स्तर वृद्धि र गुणस्तरीय स्वास्थ्य सेवा विस्तारका लागि स्थानीयले झन्डै ३ करोड रुपैयाँ जुटाएकामा खुसी व्यक्त गरे । अस्पताललाई थप व्यवस्थित, सुविधा सम्पन्न र नागरिकमैत्री बनाउने लक्ष्यसहित जग्गा व्यवस्थापन अभियान सञ्चालन गरिएको थियो ।
गलकोट नगर अस्पतालमा थप स्वास्थ्य सेवा विस्तार, आधुनिक उपकरण व्यवस्थापन तथा विशेषज्ञ चिकित्सकीय सेवा सञ्चालनका लागि जग्गा व्यवस्थापनले सहज भएको गलकोट नगर अस्पतालका प्रमुख डा. राजेश शर्माले बताए । अस्पताल स्तरोन्नतिका लागि अस्पतालसँग जोडिएको झन्डै साढे २ रोपनी जग्गा अस्पतालका नाममा ल्याइएको हो । अस्पताल स्तरोन्नतिका लागि अस्पतालका नाममा जग्गा आवश्यक भएकाले स्थानीयको सक्रियतामा जग्गा खरिद गरिएको गलकोट नगरपालिका-५ हरिचौरका वडाध्यक्ष पवन हमालले जानकारी दिए ।