खगेन्द्र नवजीवन विशेष शिक्षा विद्यालयलाई कृषि विकास बैंकको स्मार्टबोर्ड

काठमाडौं । कृषि विकास बैंकले काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं. ६ जोरपाटीस्थित खगेन्द्र नवजीवन विशेष शिक्षा विद्यालयलाई शैक्षिक सामग्री डिजिटल स्मार्टबोर्ड सहयोग गरेको छ ।

सोमबार (आज) एक कार्यक्रमको आयाेजना गरी बैंकले उक्त सामग्री सहयोग गरेको हो । 

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सहयोग प्रदान गरिएको बैंकका उपमहाप्रबन्धक सुशील हुमागाईंले बताए ।

सो कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यपक राघवप्रसाद दवाडीले बैंकको सहयोगले  विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सहयोग गरेकोमा कृतज्ञतासहित हार्दिक आभार प्रकट गरे ।

कार्यक्रममा बैंकको तर्फबाट विभागीय प्रमुख बीना शर्मा, वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेल, अभिभावक संघका अध्यक्ष जनकबहादुर अधिकारीलगायत विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक किरण धितालले गरेका थिए ।

Share News