काठमाडौं । करिब ५४ लाख ७१ हजार ६८९ रुपैयाँ बराबरको अवैध स्वदेशी तथा विदेशी मुद्रासहित नेपाल एयरलाइन्सका एक सवारी चालक पक्राउ परेका छन् ।
सुनसरीको गढी गाउँपालिका वडा नम्बर १ स्थायी घर भई हाल काठमाडौंको वनस्थली बस्ने ५० वर्षीय कमल नारायण विश्वासलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गरेको हो ।
उनी नेपाल वायुसेवा निगममा गाउन्ड इक्विपमेन्ट अपरेटर (जीईओ) हुन् । विगत १६ वर्षदेखि उनी निगममा आवद्ध थिए ।
सोमबार बेलुका उनी काठमाडौंबाट मलेसियाको क्वालालम्पुर प्रस्थान गर्न लागेको बाटिका एयरको उडान नम्बर OD181 मार्फत विदेश जान लागेका थिए ।
विमानस्थलको प्रस्थानतर्फको ब्यागेज स्क्रिनिङ र प्रहरी टोलीद्वारा गरिएको शारीरिक खानतलासीका क्रममा उनको साथबाट ठूलो परिमाणमा विभिन्न देशका मुद्राहरू फेला परेको हो ।
पक्राउ परेका विश्वासले अवैध विदेशी तथा स्वदेशी मुद्रा आफ्नो कालो रङको लगेजभित्र फलामको कराइमा हालेर लुकाई-छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा सुरक्षाकर्मीले फेला पारेका हुन् ।
सुरक्षा अधिकारीहरूका अनुसार उनको राहदानीचेकजाँच गर्दा उक्त विदेशी मुद्राको वैधानिक वैदेशिक विनिमय वा दरपिठ भएको कतै पाइएको छैन ।
यसका साथै अघिल्लो वैदेशिक यात्राको विवरण बुझ्दा उनी विभिन्न समयमा २६ पटक नेपालबाट बाह्य मुलुकतर्फ यात्रा गरिसकेको तथ्यसमेत खुलेको छ । प्रहरीले उनी लामो समयदेखि अवैध मुद्रा ओसारपसार वा तस्करीमा संलग्न हुनसक्ने आशंका गरेको छ ।
प्रहरीले विश्वासको साथबाट अमेरिकी डलर १४ हजार ८५०, ओमानी रियाल २ हजार ९७०, मलेसियन रिंगिट २३ हजार ६३२, जापानी येन ४१ हजार, श्रीलंकन रुपैयाँ ७ हजार ७७०, पाकिस्तानी रुपैयाँ ३ हजार ५४०, वेस्ट अफ्रिकन मिल फ्रान्क १ हजार र नेपाली रुपैयाँ ११ लाख गरी कुल नेपाली विनिमय मूल्य ५४ लाख ७१ हजार ६८९ रुपैयाँ ३२ पैसा बरामद गरेको छ ।
विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक राजकुमार सिलवालले विश्वासलाई आवश्यक थप कारबाही र विस्तृत अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाइएको जानकारी दिए ।
