काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा पाँच दिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच मंगलबार नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।
भेटवार्ताका क्रममा दुई देशबीचको कूटनीतिक तथा द्विपक्षीय सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास र सुरक्षा सहकार्यका विविध पक्षमा छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ । यसका साथै दुई देशका राजनीतिक दलहरूबीचको संवाद, सहकार्य र पारस्परिक समझदारी अभिवृद्धि गर्ने विषयमा समेत विचार(विमर्श भएको छ ।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार यो भ्रमण दुई देशका राजनीतिक नेतृत्व र पार्टी स्तरमा संस्थागत सम्बन्ध सुदृढ बनाउने अवसरको रूपमा रहेको छ ।
गृहमन्त्री शाहसँगको भेटअघि मंगलबार नै सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डललाई भाजपाको केन्द्रीय कार्यालयमा स्वागत गरिएको थियो । त्यहाँ उनीहरूले भाजपाका नेताहरू तथा पदाधिकारीहरूसँग भेटघाट गरेका थिए ।
सोमबार भारत प्रस्थान गरेको रास्वपाको यस उच्चस्तरीय प्रतिनिधिमण्डलमा सभापति लामिछानेसँगै उनकी धर्मपत्नी निकिता पौडेल, रास्वपा सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य एवं प्रतिनिधिसभा सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन् ।
भ्रमणका क्रममा सभापति लामिछानेले भारतमा रहेका नेपाली समुदाय तथा पार्टीका शुभेच्छुकहरूसँग भेटघाट गर्ने र अयोध्याको भ्रमण समेत गर्ने कार्यक्रम रहेको छ ।