उद्योग विभागमा ट्रेडमार्क दाबीका १३८ उजुरी, ७ दिनको अल्टिमेटम

काठमाडौं । उद्योग विभागमा विभिन्न उद्योग तथा व्यवसायीहरूबाट दायर गरिएका कुल १३८ उजुरीहरू दर्ता भएका छन् । ती उजुरीहरू मुख्यतः ट्रेडमार्क दाबी विरोध, ट्रेडमार्क नक्कल, गैरकानुनी प्रयोग तथा अनधिकृत ब्रान्ड प्रयोगजस्ता विषयसँग सम्बन्धित रहेको विभागले जनाएको छ ।

विभागका अनुसार विभिन्न मितिमा दायर गरिएका ती उजुरीहरू सम्बन्धमा सम्बन्धित उद्योग तथा कम्पनीहरूलाई संक्षिप्त कार्यविधि ऐन, २०२८ बमोजिम लिखित प्रतिक्रिया पेश गर्न पहिले नै सूचना पठाइएको थियो । उजुरीको प्रतिलिपिसहित पठाइएको सो सूचनाको बाबजुद हालसम्म कुनै पनि पक्षबाट प्रतिक्रिया प्राप्त नभएको र म्याद तामेली प्रतिवेदनसमेत नआएको विभागले जनाएको छ ।

उद्योग विभागले ७ दिनभित्र विभागको कानून शाखामा उपस्थित भई आफ्ना सबुद–प्रमाणसहित लिखित प्रतिक्रिया पेश गर्न सम्बन्धित उद्योग तथा कम्पनीहरूलाई आग्रह गरेको छ ।

विभागले तोकिएको समयसीमाभित्र प्रतिक्रिया नदिएमा प्रचलित कानून बमोजिम कारबाही अघि बढाइने स्पष्ट पारेको छ । साथै, समयमै प्रतिक्रिया नदिने पक्षहरूले पछि कानुनी दाबी-आपत्ति गर्न नपाउने चेतावनीसमेत दिएको छ ।

null

Share News