चुनावी पराजयपछि एमालेभित्र समीक्षा र पुनर्गठनको बहस

उपाध्यक्ष पौडेल भन्छन्– एमाले पुर्नगठन अहिलेको आवश्यकता

काठमाडौं । नेकपा एमालेमा चुनावी पराजयपछि पार्टीको समीक्षा र पुनर्गठनलाई लिएर नेतृत्व तहमा बहस सिर्जना भएको छ । पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले निर्वाचन परिणामको निर्मम समीक्षा गर्दै संगठनको व्यापक पुनर्गठन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

केन्द्रीय संगठन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले चुनावी पराजयबाट पाठ सिक्न नसके पार्टीले थप चुनौती सामना गर्नुपर्ने बताए । उपाध्यक्ष पौडेलले पार्टीलाई समयानुकूल ढंगले पुनर्गठन गर्नुपर्नेमा जोड दिँदै, समयानुकूल व्यापक पुनर्गठन गर्नुको विकल्प पार्टीमा नरहेकोमा जोड दिए ।

पौडेलले निर्वाचन परिणामले पार्टीभित्र आत्मसमीक्षाको आवश्यकता उजागर गरेको उल्लेख गर्दै संगठन, कार्यशैली र नेतृत्वको भूमिकाबारे खुला छलफल हुनुपर्ने धारणा राखे । उनले जनतासँगको सम्बन्ध थप सुदृढ बनाउन र बदलिँदो राजनीतिक परिस्थितिअनुसार पार्टी संरचनालाई रूपान्तरण गर्न आवश्यक रहेको बताए ।

यद्यपि पौडेलको भनाइप्रति पार्टी अध्यक्ष केपी शर्मा ओलीले फरक दृष्टिकोण प्रस्तुत राखेका थिए ।  कार्यक्रममा अध्यक्ष ओलीले समीक्षा आवश्यक भए पनि त्यसलाई पार्टी कमजोर बनाउने वा सार्वजनिक रूपमा आलोचनाको विषय बनाउने माध्यमका रूपमा प्रयोग गर्न नहुने बताएका थिए ।

‘समीक्षा भनेको बिथोल्न होइन, समीक्षा भनेको जग हँसाइ गर्नलाई होइन,’ ओलीले भनेका थिए । 

उनले समीक्षा प्रक्रियाको उद्देश्य कमजोरी पहिचान गरी सुधारको बाटो खोज्नु हुनुपर्ने उल्लेख गर्दै पार्टीलाई निराशा र अन्योलतर्फ धकेल्ने खालका अभिव्यक्ति उचित नहुने बताएका थिए ।

ओलीले एमालेले विगतमा पनि विभिन्न चुनौतीहरूको सामना गर्दै आफूलाई सशक्त रूपमा उभ्याएको दाबी गर्दै एकता, अनुशासन र संगठनात्मक सुदृढीकरणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।

पौडेलको पुनर्गठनसम्बन्धी धारणा र ओलीको प्रतिक्रियाले एमालेभित्र चुनावी परिणामको समीक्षा कसरी गर्ने भन्ने विषयमा फरक दृष्टिकोण रहेको देखिएको छ ।  पौडेलले पराजयको गहिरो समीक्षा गरी संगठनात्मक पुनर्संरचनाको आवश्यकता औंल्याएका छन् भने ओलीले नेतृत्वले समीक्षा प्रक्रियालाई पार्टीको प्रतिष्ठा र एकतासँग जोडेर हेर्नुपर्ने बताएका छन् ।

Share News