काठमाडौं । नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा जुटेको छ। केन्द्रीय बैंकले आगामी मौद्रिक नीतिलाई प्रभावकारी र सन्तुलित बनाउन विभिन्न सरोकारवाला, विज्ञ तथा सर्वसाधारणसँग राय-सुझाव माग गरेको हो ।
राष्ट्र बैंक ऐन, २०५८ बमोजिम आगामी आर्थिक वर्षको मौद्रिक नीति तर्जुमा प्रक्रिया अघि बढाइएको जनाएको छ । आर्थिक अनुसन्धान विभागले सूचना जारी गर्दै बैंक तथा वित्तीय क्षेत्र, निजी क्षेत्र, व्यवसायी, अर्थविद्, अनुसन्धानकर्ता तथा अन्य सरोकारवालालाई आफ्ना सुझाव उपलब्ध गराउन आग्रह गरेको हो ।
राष्ट्र बैंकले सुझाव पठाउन असार ५ गतेसम्मको समयसीमा तोकेको छ । प्राप्त सुझावका आधारमा बजेटले तय गरेका आर्थिक लक्ष्य तथा प्राथमिकतालाई सहयोग पुग्ने गरी मौद्रिक नीति तयार गरिनेछ ।
नेपाल राष्ट्र बैंकले हरेक वर्ष साउनको पहिलो वा दोस्रो साताभित्र मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ । यस वर्ष पनि निर्धारित समयमै नीति ल्याउने तयारीस्वरूप केन्द्रीय बैंकले जेठ महिनादेखि नै राय–सुझाव संकलन प्रक्रिया तीव्र बनाएको हो ।