राणा र प्रसाईं मिलेर पार्टी खोल्ने, मलमासपछि घोषणा

यस्ता छन् सहमतिका ११ बुँदाहरू

काठमाडौं । ‘नागरिक बचाऊ महाअभियान’ का संयोजक दुर्गा प्रसाईं र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका डा. धवलशमशेर राणाको नेतृत्वमा रहेको समूहबीच नयाँ राजनीतिक दल गठन गर्ने औपचारिक सहमति भएको छ । 

बृहत् राष्ट्रवादी एकता कायम गरी देशलाई नयाँ दिशा दिने उद्देश्यका साथ दुई पक्षबीच ११ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो ।

शुक्रबार आज दुवै नेताहरूले हस्ताक्षर गरी जारी गरेको सम्झौता पत्रमा संवैधानिक राजसंस्थाको पुनःस्थापना, वैदिक सनातन हिन्दू अधिराज्य र युवा तथा महिलाको ६० प्रतिशत सहभागिता रहने गरी नयाँ पार्टी घोषणा गर्नेसम्मका रणनीतिक बुँदाहरू समेटिएका छन् ।

सम्झौता पत्रको प्रस्तावनामा नेपालको भू-अखण्डता, सांस्कृतिक मौलिकता, धार्मिक स्वतन्त्रता, भाषिक विविधता र सभ्यतागत निरन्तरताको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । 

विदेशी प्रभाव र आन्तरिक विखण्डनविरुद्ध राष्ट्रलाई सुदृढ दिशा दिनु आजको प्रमुख आवश्यकता रहेको ठहर गर्दै संसद्‌मा किरात र बौद्धसहितको वैदिक सनातन हिन्दू अधिराज्य र संवैधानिक राजसंस्थाको पुनःस्थापनाका लागि एक सशक्त, लोकतान्त्रिक तथा राष्ट्रवादी राजनीतिक शक्तिको आवश्यकतालाई आत्मसात् गरिएको पत्रमा उल्लेख छ ।

सहमतिका ११ मुख्य बुँदाहरू 

१. सनातन हिन्दू अधिराज्य: नेपालको भूगोल, भूगोलको गर्भमा रहेको किराँत, बौद्धसहितको सनातन हिन्दू अधिराज्य।

२. राष्ट्रवादि दर्शन: राष्ट्रिय एकताका प्रतिक श्री ५ पृथ्वीनारायण शाहका दिव्य उपदेशमा आधारित राष्ट्रवादि दर्शन।

३. सुधारमुखि संघीयता: राष्ट्रिय स्वाभिमान सहितको सुधारमुखी संघीयता।

४. दोहोरो नागरिकताको व्यवस्था: एक पटकको नेपाली सधैको नेपाली र दोहोरो नागरिकता राख्न पाउनु पर्ने व्यवस्था।

५. ऋण तथा सुकुम्बासी समस्या समाधान: लघुवित्त, सहकारी, बैंक र मिटरब्याजिबाट कालो सुचिमा पारिएका भुमिविहिन सुकुम्बासी नेपाली नागरिकको दिगो समस्या समाधान।

६. परराष्ट्र नीतिस् असंलग्न परराष्ट्र नीति ।

७. सुशासन : सुशासन र भ्रष्टाचार मुक्त समाज ।

८. अर्थतन्त्र: स्वदेशी उत्पादनमा आधारित मिश्रीत अर्थतन्त्र ।

९. विचार र सिद्धान्त मिल्ने अन्य राजनीतिक दल, अभियान, संगठन र व्यक्तिहरुलाई साथ लिएर नयाँ राजनीतिक पार्टी घोषणा

१०. नयाँ निर्माण हुने राजनीतिक दलमा ६० प्रतिशत युवा तथा महिला सहभागिता

११. नेपाली नागरिकको गर्भबाट जन्मिएको नागरिक केन्द्रित राष्ट्रवादी दर्शन

Share News