काठमाडौं । बजेट घोषणा अघि केही भन्सार नाकाबाट विद्युतीय कार जाँचपास भएको विषयलाई लिएर फैलाइएको अफवाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि गरिएको चरित्र हत्याप्रति अर्थ मन्त्रालयले आपत्ति जनाएको छ ।
मन्त्रालयका अनुसार रसुवागढी नाकामा भन्सार बिन्दुमै नआएका सवारी साधनको जाँचपास भएको भन्ने विषयमा गठित छानबिन समितिको सिफारिसअनुसार जेठ २० गते प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारीलाई जिम्मेवारीबाट मुक्त गरी भन्सार विभाग तानिएको छ । उक्त घटनामा थप अनुसन्धान भइरहेको जनाइएको छ ।
त्यस्तै, मुस्ताङको कोरोला नाकाबाट जाँचपास भएका कारको विषयमा पनि मन्त्रालयले स्थलगत छानबिन अघि बढाएको छ । अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली फिल्डमै खटिएर अनुसन्धान गरिरहेको मन्त्रालयले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा भन्सार छलीको आशंकामा केही सवारी साधन र आयातकर्ता कम्पनीमाथि निगरानी तथा अनुसन्धान जारी रहेको छ । विस्तृत विवरण भने छानबिनपछि सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले छानबिन जारी रहँदै गर्दा अर्थमन्त्री र जिम्मेवार अधिकारीहरूविरुद्ध भ्रामक प्रचार, मिडिया ट्रायल तथा बजेटलाई विवादमा पार्ने उद्देश्यले गरिएका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
यस्ता गतिविधिमा संलग्न केही व्यक्तिविरुद्ध कानुनी प्रक्रिया सुरु भइसकेको र अन्यविरुद्ध पनि आवश्यक कानुनी कदम चालिने तयारी भइरहेको मन्त्रालयले स्पष्ट पारेको छ।
साथै, अर्थ मन्त्रालयले सम्बन्धित विषयमा धारणा बनाउँदा आधिकारिक स्रोतसँग तथ्य पुष्टि गर्न र प्राविधिक विषयमा यथार्थ जानकारी लिएर मात्र समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यम तथा सरोकारवालासँग अनुरोध गरेको छ ।