काठमाडौं । आज देशका विभिन्न भू-भागमा आंशिक बदलीदेखि बर्सातको सम्भावना रहेको छ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग तथा बाँकी हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ ।
मधेस प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराईका भू-भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
यस्तै, कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा र बाँकी हिमाली तथा पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ ।
आज मधेस प्रदेशलगायत, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा तातो दिन हुने सम्भावना रहेको जनाइएको छ ।
आज राति कोशी प्रदेशलगायत देशका हिमाली भू-भागमा साधारणतया बादल, पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ भने तराई भू-भागमा मुख्यतया सफा रहनेछ ।
कोशी प्रदेशका थोरै स्थान, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग तथा कर्णाली प्रदेशका हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।