काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल लामो बिदापछि सोमबारदेखि पुनः इजलासमा फर्किएकी छन् । मल्ल जेठ ६ गतेदेखि २० दिन बिदामा बसेकी थिइन् ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत अनिवार्य अवकाशमा गएपछि वरिष्ठताका आधारमा मल्ल सर्वोच्च अदालतको पहिलो वरीयताकी न्यायाधीश बनेकी थिइन् । तर संवैधानिक परिषद्ले प्रधानन्यायाधीश पदका लागि वरिष्ठताक्रममा चौथो स्थानमा रहेका डा. मनोजकुमार शर्मालाई सिफारिस गरेपछि मल्लले असन्तुष्टि जनाउँदै बिदामा बसेकी थिइन् ।
सर्वोच्च अदालतले तोकेको पेसी सूची अनुसार मल्लको बेन्चमा सोमबार ७ वटा मुद्दा परेका छन् । मल्लले आज न्यायाधीश मेघराज पोखरेलसँग बेन्च शेयर गर्नेछिन् ।
मल्ल २०७३ सालमा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएकी थिइन् ।