काठमाडौं । कामना सेवा विकास बैंकले सर्वोदय परियोजनासँगको सहकार्यमा दृष्टिविहीन तथा आर्थिक रूपमा विपन्न र सामाजिक रूपमा पछाडि परिएका समुदायका लागि २५ थान सेतो छडी वितरण गरेको छ ।
दृष्टिविहीन व्यक्तिहरूको स्वतन्त्र, सुरक्षित तथा सम्मानजनक आवागमनमा सहयोग पुर्याउने उद्देश्यले आयोजित कार्यक्रममा बैंकका ब्रान्डिङ तथा सीएसआर प्रमुख सुशिल पौडेलले सेतो छडी हस्तान्तरण गरेका थिए । कार्यक्रममा बैंकका अनुपालना विभाग प्रमुख खुमनाथ भुसालको समेत उपस्थिति रहेको थियो ।
दृष्टिविहीन व्यक्तिहरूका लागि सेतो छडी केवल हिँडडुलको साधन मात्र नभई आत्मनिर्भरता, सुरक्षा र आत्मविश्वासको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै पौडेलले यस्ता सहयोगले विशेषगरी आर्थिक रूपमा कमजोर समुदायका व्यक्तिहरूको दैनिक जीवन सहज बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
त्यस्तै, सर्वोदय परियोजनाका सौगात वाग्लेले सेतो छडीले दृष्टिविहीन व्यक्तिहरूको जीवनस्तर सुधार, सामाजिक समावेशीकरण तथा स्वतन्त्र जीवनयापनलाई प्रोत्साहन गर्ने बताए ।
कार्यक्रममा पौडेलले दृष्टिविहीन व्यक्तिहरूलाई आत्मनिर्भर तथा सहज बैंकिङ अभ्यासतर्फ अभिप्रेरित गर्ने प्रतिबद्धता व्यक्त गर्दै बैंकले यस्ता कार्यक्रममार्फत सामाजिक समावेशितामा सकारात्मक योगदान पुर्याउने विश्वास लिएको जनाए ।