काठमाडौं । नेकपा (एमाले) ले आर्थिक विधेयकमा करका दर परिवर्तन गरिएको विषयलाई लिएर सरकारको आलोचना गर्दै गाडी आयातसँग सम्बन्धित प्रक्रियामा अनियमितता भएको आरोप लगाएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले संसद्मा प्रस्तुत गरिएको आर्थिक विधेयक र अन्तिम रूपमा पारित गरिएको दस्तावेजबीच फरक देखिएको दाबी गरिन् । उनले विधेयकका केही पृष्ठमा संशोधन गरिएको उल्लेख गर्दै करका दर हेरफेर गरिएको विषय गम्भीर भएको बताइन् ।
अर्यालले चिनियाँ विद्युतीय सवारीसाधन निर्माता बीवाईडीसँग सम्बन्धित आयात प्रक्रियामा समेत शंका उत्पन्न भएको बताउँदै यसबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरिन् । उनका अनुसार भन्सार प्रक्रिया र कर निर्धारणसँग जोडिएका विषयमा सार्वजनिक रूपमा विभिन्न प्रश्न उठिरहेका छन्, जसले पारदर्शितामाथि नै प्रश्न खडा गरेको छ ।
सांसद अर्यालले करसम्बन्धी व्यवस्थामा अपारदर्शी ढंगले हस्तक्षेप गरिए राज्यको राजस्वमा असर पर्ने र यसलाई आर्थिक अनुशासनविपरीतको कार्यका रूपमा लिनुपर्ने बताइन्। उनले विवादित विषयमा सम्बन्धित मन्त्रालय तथा अर्थमन्त्रीले संसद्लाई स्पष्ट जवाफ दिनुपर्ने मागसमेत गरिन् ।