काठमाडौं । भारतका चर्चित शिक्षक तथा युट्युबर फैजल खान (खान सर) को ‘खान ग्लोबल स्टडिज’ इन्स्टिच्युट यतिबेला दोहोरो कानुनी र नियामक झमेलामा फसेको छ । संस्था बाहिर भएको गोलीकाण्डमा खान सरमाथि ‘ज्यान मार्ने उद्योग’ को मुद्दा दर्ता भएको केही दिनमै बिहार अग्नि सेवाले गरेको जाँचका क्रममा उनको कोचिङ सेन्टरमा गम्भीर अग्नि सुरक्षा कमजोरीहरू फेला परेका छन् ।
अग्नि नियन्त्रण विभागले संस्थालाई एक हप्ताभित्र ती कमजोरीहरू सुधार्न अल्टिमेटम दिँदै सूचना जारी गरेको छ भने तोकिएको समयमा मापदण्ड पूरा नगरे संस्था सिल गर्ने चेतावनीसमेत दिएको छ ।
हालै दिल्लीको एक होटल र बिहारको मुजफ्फरपुरस्थित प्रसाद अस्पतालमा भएका विनाशकारी आगलागीका घटनापछि बिहार सरकारले राज्यभर सुरक्षा जाँचलाई तीव्र बनाएको छ । सोही अभियानअन्तर्गत आइतबार पटनास्थित खान सरको इन्स्टिच्युटमा निरीक्षण गरिएको थियो ।
सहायक जिल्ला अग्नि अधिकारी अजय कुमार शर्माका अनुसार खान ग्लोबल स्टडिजले नयाँ भवनको अग्नि सुरक्षा प्रमाणपत्रका लागि आवेदन दिएको थियो । सोही आवेदनका आधारमा गरिएको निरीक्षणमा विभिन्न कमजोरीहरू फेला परेका छन् ।
परिसरमा कुनै पनि प्रकारको फायर अलार्म प्रणाली जडान नगरिएको, आगलागी नियन्त्रणका लागि आवश्यक फायर पम्पको व्यवस्था नभएको, छतमा रहेको पानीको ट्याङ्कीको क्षमता अन्तर्राष्ट्रियरराष्ट्रिय मापदण्ड भन्दा अपर्याप्त रहेको, भवनको उपयोग व्यवस्थापनसँग सम्बन्धित समस्याहरू रहेको शर्माले जानकारी दिए ।
बिहार अग्नि सेवाका डीआईजी मनोज कुमार नुत्तले भने, ‘हाम्रो उद्देश्य कसैलाई दुःख दिनु होइन, धनजनको क्षति रोक्नु हो । तर यदि दिइएको एक हप्ताको समयभित्र मापदण्ड पालना गरिएन भने बिहार अग्नि सेवा ऐन र नियमावली, २०२१ बमोजिम कोचिङ इन्स्टिच्युट सिल गरिनेछ ।’
यो अग्नि सुरक्षाको झमेला जुन २ मा पटनाको कदमकुआन क्षेत्रमा रहेको खान सरकै संस्था बाहिर भएको हिंसात्मक घटनासँग पनि जोडिएको छ । जुन २ मा संस्था बाहिर एउटा समूहले तोडफोड र सुरक्षागार्डमाथि आक्रमण गरेपछि खान सरले प्रतिद्वन्द्वीहरूले ‘८ देखि १० राउन्ड’ गोली चलाएको दाबी गरेका थिए ।
प्रहरीले सुरुमा एक प्रतिद्वन्द्वी कोचिङ इन्स्टिच्युटसँग जोडिएका तीन जनालाई पक्राउ गर्यो । तर, भिडियो फुटेज र प्राविधिक प्रमाणहरूको विस्तृत अनुसन्धानपछि घटनाले अर्कै मोड लियो । प्रहरीले ‘खान ग्लोबल स्टडिज’ मै कार्यरत दुई जना सुरक्षागार्डलाई पक्राउ गर्यो ।
पक्राउ परेका गार्डहरूले खान सरकै निर्देशनमा आफूहरूले गोली चलाएको बयान दिएपछि प्रहरीले खान सरविरुद्ध ‘ज्यान मार्ने उद्योग’लगायतका गम्भीर आरोपमा मुद्दा दर्ता गरेको छ ।
यता खान सरका वकिल अरविन्द कुमार मौआरले भने उनीमाथि लगाइएका सबै आरोपहरूको खण्डन गरेका छन् । वकिल मौआरले यो मुद्दा केवल विपक्षीको बयानका आधारमा मञ्चन गरिएको र प्रतिशोधपूर्ण मनसायले प्रेरित रहेको दाबी गर्दै अदालतमा अग्रिम जमानतको याचिका दायर गर्ने तयारी भइरहेको बताएका छन् ।
विवाद र कानुनी घेरामा परेका खान सरले अब एक साताभित्र आफ्नो इन्स्टिच्युटको भौतिक सुरक्षा (अग्नि मापदण्ड) सुधार्नुपर्नेछ भने अर्कोतर्फ फौजदारी मुद्दाको पनि सामना गर्नुपर्ने भएको छ ।
पटनाको कदमकुआन र नयाँ टोला क्षेत्र भारतमै निजामती सेवा र अन्य तयारीका लागि ‘कोचिङ हब’ मानिन्छन् । युट्युबबाट चर्चामा आएका खान सरले ‘खान ग्लोबल स्टडिज’ खोलेर निकै सस्तो शुल्कमा गुणस्तरीय शिक्षा दिन थालेपछि पटनाका अन्य पुराना र ठूला कोचिङ सेन्टरहरूको व्यापारमा ठूलो धक्का लागेको थियो । यही व्यावसायिक रिसिइबीका कारण खान सर र अन्य प्रतिस्पर्धी कोचिङ सञ्चालकहरूबीच लामो समयदेखि शीतयुद्ध चलिरहेको थियो ।
यसरी सुरु भयो विवाद
जुन २ का दिन खान सरको इन्स्टिच्युट बाहिर अर्को एक प्रतिस्पर्धी कोचिङ सेन्टरका मानिसहरू (जसलाई स्थानीय भाषामा कोचिङ एजेन्ट वा बाउन्सर भनिन्छ) आएका थिए । उनीहरूले खान सरकोमा आउने विद्यार्थीहरूलाई भड्काउन र आफ्नोमा तान्न खोजेपछि दुवै पक्षका स्टाफ र सुरक्षागार्डबीच भनाभन सुरु भयो ।
भनाभन बढ्दै गएपछि प्रतिस्पर्धी गुटका मानिसहरूले खान सरको संस्थाको गेटमा ढुङ्गामुढा र तोडफोड गरे । उनीहरूले खान सरका सुरक्षागार्डहरूमाथि पनि लाठी र डन्डाले आक्रमण गरे ।
घटनालगत्तै खान सरले मिडिया र प्रहरीसामु आफ्ना प्रतिद्वन्द्वीहरूले संस्थालाई सिध्याउन र आफूलाई तर्साउन ८ देखि १० राउन्ड खुला गोली चलाएको दाबी गरे । सुरुमा सबैले खान सरमाथि नै आक्रमण भएको ठाने ।
प्रहरीले अनुसन्धान गर्दै जाँदा सुरुमा प्रतिस्पर्धी संस्थाका ३ जनालाई समात्यो । तर जब प्रहरीले घटनास्थल र वरपरका सीसीटीभी फुटेजहरू संकलन गरेर हेर्यो तब कथाले अर्कै मोड लियो ।
फुटेजमा बाहिरबाट आएका भीडलाई लखेट्न खान सरकै संस्थाका निजी सुरक्षागार्डहरूले बन्दुक निकालेर अन्धाधुन्ध गोली चलाएको देखियो । प्रहरीले ती दुई गार्डलाई पक्राउ गरेर केरकार गर्दा उनीहरूले बयान दिए— ‘बाहिर माहोल बिग्रिएपछि खान सरले नै भित्रबाट फोन गरेर ‘गोली चलाएर तिनीहरूलाई भगाऊ’ भनी आदेश दिएका थिए ।’
गार्डहरूको यही बयान र सीसीटीभी फुटेजको आधारमा पटना प्रहरीले खान सरलाई नै यो हिंसा र गोलीकाण्डको मुख्य योजनाकार ठहर गर्यो । भीडभाड भएको सार्वजनिक सडकमा गोली चलाउन आदेश दिएर मानिसहरूको ज्यान जोखिममा पारेको भन्दै प्रहरीले खान सरविरुद्ध भारतीय न्याय संहिताको ‘ज्यान मार्ने उद्योग’ सम्मको गम्भीर मुद्दा दर्ता गरेको हो ।