काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले मन्त्रिपरिषद् बैठकमा सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनहरू वितरण गरेकी छन् ।
स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवर्द्धन गर्ने र सरकारी निकायबाटै यसको उपभोग बढाउने उद्देश्यका साथ मन्त्री चौधरीले प्रधानमन्त्री वालेन्द्र शाहसहित मन्त्रिपरिषद्का सदस्यहरूलाई डीडीसीका दुग्धजन्य उत्पादनहरूको प्याकेज वितरण गरेकी हुन् ।
मन्त्रिपरिषद्को आजको बैठकमा डीडीसीका उत्पादनहरूको देशव्यापी प्रवर्द्धन, बजार विस्तार तथा संस्थानको व्यावसायिक सुदृढीकरणका विषयमा गहन छलफल समेत भएको छ ।
बैठकमा मन्त्री चौधरीले स्वदेशी दुग्ध उत्पादनको संरक्षण, नेपाली दुग्ध किसानहरूको हित रक्षा तथा डीडीसीलाई थप प्रतिस्पर्धी र गुणस्तरीय बनाउनुपर्ने एजेन्डालाई मुख्य रूपमा उठाएकी थिइन् ।
लामो समयदेखि नेपाली उपभोक्तामाझ शुद्ध र गुणस्तरीय दूध, घिउ, दही, पनिर, चिजलगायतका दुग्धजन्य उत्पादनहरू उपलब्ध गराउँदै आएको डीडीसीको यो अभियानलाई प्रधानमन्त्री वालेन्द्र शाहले पनि समर्थन जनाएका छन् ।
यसभन्दा अगाडि प्रधानमन्त्री शाहलेडीडीसीका उत्पादनको प्रवर्द्धन र प्रचार गर्न सामाजिक सञ्जालमा पोस्ट राखेका थिए ।