काठमाडौं । नेकपा एमालेको पार्टी पुनर्गठन तथा समीक्षा कार्यदलको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न भएको छ ।
बैठकले पार्टीको संगठनात्मक सुदृढीकरण र पुनर्गठन सम्बन्धी सुझाव संकलन गर्न विभिन्न प्रदेश, जनसंगठन तथा निकायका पदाधिकारीहरूसँग छलफल गर्ने निर्णय गरेको छ । कार्यदलले सुझाव संकलनका लागि विस्तृत भेला तालिकासमेत सार्वजनिक गरेको छ ।
निर्णयअनुसार जेठ ३० गते बागमती प्रदेश, असार २ गते कोशी प्रदेश, असार ४ गते लुम्बिनी प्रदेश, असार ६ गते सुदूरपश्चिम प्रदेश, असार ८ गते कर्णाली प्रदेश, असार ११ गते गण्डकी प्रदेश र असार १३ गते मधेश प्रदेशका पदाधिकारीहरूसँग सुझाव संकलन गरिनेछ ।
यस्तै, असार १६ गते राजधानी विशेष समन्वय, असार १७ गते सम्पर्क समन्वय समिति, असार १८ गते जनसंगठन तथा असार १९ गते विभाग प्रमुख र विभिन्न निकायका पदाधिकारीहरूसँग छलफल गर्ने कार्यतालिका तय गरिएको छ ।
कार्यदलले प्रदेशस्तरीय भेलामा सम्बन्धित भूगोलको जिम्मेवारीमा रहेका केन्द्रीय सदस्य, प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका पदाधिकारीहरूको सहभागिता रहने जनाएको छ । कार्यक्रमको संयोजन सम्बन्धित प्रदेशका इन्चार्जहरूले गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले कार्यदलको सदस्य सचिवको जिम्मेवारी पार्टी महासचिवलाई प्रदान गर्ने निर्णय गरेको छ । साथै आयोजना हुने सबै भेलाहरूमा कार्यदलका संयोजक, महासचिव तथा सदस्यहरूको अनिवार्य उपस्थिति रहने जनाइएको छ।
पार्टी पुनर्गठन र संगठनात्मक सुधारका लागि सुझाव संकलन अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यदलले प्रदेशदेखि केन्द्रीय तहसम्मका नेतृत्वसँग प्रत्यक्ष संवाद गर्ने तयारी गरेको एमालेले जनाएको छ ।