४८ दिनपछि सुधनको गृह मन्त्रालयमा ‘कमब्याक’

छानबिन प्रतिवेदन भने गोप्य

काठमाडौं । विभिन्न विवादमा परेपछि राजीनामा दिएका सुधन गुरुङ ४८ दिनपछि पुनः गृहमन्त्रीका रूपमा सिंहदरबार फर्किएका छन् । गत वैशाख ९ गते पदबाट राजीनामा दिएका गुरुङले जेठ २६ गते (मंगलबार) पुनः गृहमन्त्रालयको कमाण्ड सम्हालेका हुन् ।

गत वर्षको चैत १३ गते पहिलो पटक गृहमन्त्री बनेका गुरुङ सम्पत्ति विवरण, सेयर स्वामित्व र आर्थिक कारोबार लगायतका विषयमा विवादमा मुछिएका थिए । विवाद चर्किएपछि उनले पदबाट राजीनामा दिएका थिए ।

गुरुङको राजीनामालगत्तै सरकारले उनीमाथि लागेका आरोपहरूको छानबिन गर्न एक उच्चस्तरीय समिति गठन गरेको थियो । उक्त समितिले गुरुङको सम्पत्ति, सेयर स्वामित्व र समग्र आर्थिक कारोबारको विस्तृत अध्ययन गरेको थियो ।

समितिले गुरुङमाथि लागेका आरोपहरूमा कुनै गम्भीर अनियमितता नदेखिएको निष्कर्ष निकाल्दै सरकारलाई प्रतिवेदन बुझाएको छ । छानबिन समितिले आरोपबाट मुक्त गरेकै आधारमा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले उनलाई पुनः मन्त्रीमण्डलमा समेट्दै गृहमन्त्रालयको जिम्मेवारी सुम्पिएका हुन् ।

समितिको प्रतिवेदनकै आधारमा मन्त्री गुरुङले सफाइ पाएर मन्त्रालयमा कमब्याक गरे पनि उक्त छानबिन प्रतिवेदन भने अझै सार्वजनिक गरिएको छैन ।

प्रतिवेदन सार्वजनिक नभएकाले यसको पूर्ण विवरण र समितिको ठोस निष्कर्षबारे सर्वसाधारणमा अझै कौतुहलता कायम छ ।

पहिलो पटक मन्त्री बनेको २७ औं दिनमै गुरुङले राजीनामा दिएका थिए ।

पहिलो पटक मन्त्रिपरिषद् गठन हुँदा तेस्रो मर्यादाक्रममा रहेका गुरुङ त्यसपछि मर्यादाक्रम परिवर्तन हुँदा उनी पाँचौँ स्थानमा परेका थिए । यद्यपि अहिले पनि उनी पाँचौं स्थानमै रहेका छन् ।

गत वर्षको फागुन २१ गते सम्पन्न  प्रतिनिधिसभा निर्वाचनमा गोरखा १ बाट विजयी भएका गुरुङ जेनजी आन्दोलनपछि राजनीतिक वृत्तमा चिनिएका हुन् ।

उनी त्यसअघि उनी ‘हामी नेपाल’ नामक संस्थाका अध्यक्ष थिए ।

जेनजी आन्दोलनको पहिलो दिन उनले सञ्चारमाध्यममा ‘म स्वयंसेवकका रूपमा पानी बाँड्न आएको हुँ’ भन्ने अभिव्यक्ति दिएका थिए ।

गुरुङमाथि ‘फ्री तिब्बत’ अभियानसँग जोडिएका संस्थासँगको सहकार्य, ‘टीओबी’को आरोप पनि लाग्दै आएको थियो ।

Share News